डेंगी नियन्त्रण सम्बन्धी लालबन्दीमा अन्तरक्रिया

233 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले डेङ्गी रोग नियन्त्रण तथा रोकथाम सम्वन्धी सरोकारवालाको अन्तरक्रिया गरेको छ।डेङ्गी रोग नियन्त्रणका लागि सबै पक्षले समन्वय र सतर्कता अपनाउन जरुरी रहेको भन्दै सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए ।उनका अनुसार“एडिज एजिप्टी” र “एडिज एल्बोपिक्टस्”नामक लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने र त्यसबाट जोगिने एक मात्रै विकल्प लामखुट्टेको टोकाइबाट जोगिनु नै रहेको हो ।
लामखुट्टेको टोकाइबाट जोगिन बाहुला भएको लुगा लगाउने,घर वरपर नियमित सरसफाई गर्ने, गमला, थोत्रा टायर र खाल्डा खुल्डीमा पानी जम्न नदिने र सुत्ने बेला झुलको प्रयोग गर्न लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले सबैसंग अनुरोध गरे ।डेङ्गी लागेपछि उच्च ज्वरो आउने,टाउको दुख्ने,थकान महसुस हुने,शरीरका मांशपेशी दुख्ने, वान्ता हुने र पखाला लाग्ने लगायतका लक्षण देखा पर्ने भएकाले ज्वरोमा सिटामोल र जीवनजल बाहेक अन्य कुनै औषधी प्रयोग गर्न मिल्ने अवस्था नहुने र डेङ्गीकै लागि भनेर औषधी समेत नरहेकाले सावधानी अपनाउनु नै उत्तम विकल्प हुने डा.चौधरीले बताए ।
सर्वसाधारणसहित सबैले सचेतना अपनाउने र समन्वय गरेर अभियान सञ्चालन गर्दा मात्रै डेङ्गी नियन्त्रण हुन सक्ने लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।शाखाका अनुसार लालबन्दी नगरपालिकाभित्र चालू आर्थिक वर्षमा १९ जनामा डेङ्गी सङ्क्रमण पुष्टी भएको छ ।नगरपालिकाको स्वास्थ्य शाखाले वर्षेनि लामखुट्टेको बासस्थान नष्ट गर्न “सर्च एण्ड डिस्ट्रोय” अभियान चलाउने गरेको नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका सुरेन्द्र खतिवडाले बताए ।
नाला निर्माण गरेर खुला छाडिदिँदा त्यहाँ लामखुट्टे बसेर डेङ्गी फैलाउन सहयोग पुगेको लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीले बताए ।अन्तरक्रिया कार्यक्रममा लालबन्दी नगरपालिकाकी उप प्रमुख कल्पना माया पाख्रिन,प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने लगायत विभिन्न वडाका जनप्रतिनिधिहरु तथा स्वास्थ्यकर्मीहरुको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार