सर्लाहीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । नेपाल सरकारको नीतिअनुसार “स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा” भन्ने मूल नाराका साथ जिल्लामा पाँचौ स्वास्थ्य बीमा दिवसका अवसरमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो ।
जतिसक्दो चाँडो सर्लाहीका वासिन्दाहरुको बीमा गर्नका लागि स्वास्थ्य बीमा दर्ता सहयोगीहरुका लागि स्वास्थ्य बीमा सहित तालिम समेत सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम सर्लाहीका संयोजक चेतन घिमिरेले जानकारी दिनु भयो ।
तालिम लिएपछि जिल्लाका सबै स्थानिय निकायका प्रत्येक वडाहरुमा स्वास्थ्य बीमा सदस्यता दर्ताका लागि सहयोगीहरु खटाइने उहाँले बताउनु भयो । स्वास्थ्य बीमा बोर्डकी कार्यकारी सदस्य इन्द्रकला राईको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलगायत जिल्लाका विभिन्न स्थानिय निकायका प्रमुख तथा प्रतिनिधहरुको उपस्थिती रहेको थियो ।
सर्लाहीसँगै बारा, दोलखा, ताप्लेजुङ, मनाङ र मुस्ताङमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैसाथ यो कार्यक्रमको शुभारम्भ गरेको हो । नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको मन्त्रालयले जनाएको छ । अब स्वास्थ्य बीमा कार्यक्रम ७५ वटा जिल्लामा लागु भएको छ । यो कार्यक्रममा सहभागी भएका विमितहरुले औषधी र उपचार सेवामा सहुलियत पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बताउनु भयो ।
५ जना सम्मको परिवार भएको विमितले प्रति बर्ष रु ३ हजार ५ सय प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पूर्ण सुविधा लिन पाउँनेछन् । पछि थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भइसकेका मन्त्रालयले जनाएको छ ।