Close This

पित पत्रकारिता अक्षम्य ः पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष क्षेत्री

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-२९ गते   २९८ पटक हेरिएको

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सर्लाहीको सभा हलमा आयोजित कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष विश्वनाथ ठाकुरले नवनिर्वाचित कार्य समितिका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई नेतृत्व हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा निवर्तमान अध्यक्ष ठाकुरले निर्विरोध चयन भएका अध्यक्ष क्षेत्री नेतृत्वको कार्य समितिलाई बधाई एवं शुभकामना व्यक्त गर्नु भएको छ ।
ठाकुरकै अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी उप सभापति जमुना पौडेल, मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, नेकपा(एमाले) सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्त, जनता समाजवादी पार्टीका सर्लाहीका जिल्ला अध्यक्ष वीरेन्द्र राय, नेपाली काँगे्रसका जिल्ला कार्य समितिका सदस्य जयप्रकाश मल्लिक लगायतले नवनिर्वाचित नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई शुभकामना दिनु भएको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष क्षेत्रीले आफू पत्रकारहरुको छाता संगठनको जिल्ला अध्यक्षमा रहुन्जेल पत्रकारहरुको हित र विकासमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो। उहाँले गलत मनासय राखेर पित पत्रकारिता गर्ने, तर्साउने, धम्काउने काम गर्न खोज्ने पत्रकारको कहिल्यै पनि पक्षपोषणा नगर्ने तर श्रमजीवी पत्रकारहरुलाई कुनै सारोगाह्रो तथा अप्ठेरो पर्दा सहयोग गर्ने बताउनु भयो ।
पदस्थापना पश्चात नवगठित कार्य समितिको पहिलो बैठक बसेको छ । बैठकले शान्तीपूर्ण ढंगले निर्वाचन प्रक्रिया पूरा गरेर नेतृत्व हस्तान्तरण गरेकोमा सबैप्रति धन्यवाद ज्ञापन गर्दै मलंगवास्थित जिल्ला समन्वय समिति सर्लाहीको कार्यालय छेउमा पत्रकार महासंघलाई उपलब्ध गराइएको अधूरो भवनको निर्माण कार्य पूरा गर्न पहल गर्ने निर्णय गरेको नवनिर्वाचित कार्य समितिका सचिव सुनिल ठाकुरले बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech