दुर्गा कुमारी अधिकारी
सर्लाहीको मलंगवा नगरपालिका १२,गम्हरियामा आयोजित अन्तर प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । मलंगवा नगरपालिका १२,गम्हरियामा आयोजित अन्तर प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको हो ।
प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार झापालाई ३–० को सोझो सेटमा पराजित गर्दै विभागिय क्लब एपीएफ विजयी भएको हो । एपीएफले पहिलो सेट २५–१६,दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गरेको मलंगवा नगरपालिका १२ का वडाध्यक्ष रामदरेश रायले जानकारी दिए ।
पहिलो सेटदेखि नै राम्रो खेल खेलेको एपीएफलाई दोस्रो सेट जित्न भने केही मेहनत गर्नुपर्यो । तेस्रो सेटमा झापाले निकै खराब खेल खेलेपछि एपीएफ ३–० को सोझो सेटमा विजयी भएको हो । भलिबलका तीन जना राष्ट्रिय खेलाडीको सहभागितामा आएको एपीएफले ट्रफीसहित नगद एक लाख २० हजार हात पारेको आयोजकले जनाएको छ । उपबिजेता झापाले रु ६५ हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा एपीएफ,बागमती प्रदेशका मकवानपुर,सिन्धुली र कोशी प्रदेशका झापा तथा मधेश प्रदेशको ५ वटा समेत गरी नौवटा टिमको सहभागिता रहेको थियो ।