जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । विगत लामो समयदेखि भाडाको घरमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आफ्नै भवन निर्माण गरि आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
स्थानिय निर्माण उपभोक्ता समिति बनाएर २०७० सालबाट निर्माण सुरु भएको भवन करिब ७ वर्ष पछि निर्माण सम्पन्न भएको हो । तत्कालीन नेत्रगञ्ज गाविस,स्थानिय निकायहरु,प्रदेश सरकार,केन्द्र सरकार,सर्लाहीका निजी शैक्षिक संस्थाहरु र स्थानिय व्यापारी व्यावसायिहरुको साथ र सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको भवन निर्माण भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमहरी काफ्लेले जानकारी दिनु भयो ।
अध्यक्ष काफ्लेका अनुसार तत्कालीन नेत्रगञ्ज गाविसबाट रु ५० हजार,लालबन्दी नगरपालिकाबाट रु २० लाख,हरिवन नगरपालिकाबाट रु १ लाख,बागमती नगरपालिकाबाट रु २ लाख ५० हजार,प्रदेश सरकारबाट रु ५ लाख र केन्द्र सरकारबाट रु ९ लाखको आर्थिक सहयोगमा भवन निर्माण भएको हो ।
त्यसैगरी प्याव्सन सर्लाहीबाट रु १ लाख ५० हजार र सर्लाहीका व्यापारी व्यावसायिहरुबाट गरी करिब ५ लाखगरी कुल रु ४४ लाख ५० हजारको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको भवन निर्माण भएको हो ।
वि.ंसं. २०७० सालबाट निर्माण उपभोक्ता समिति मार्फत काम सुरु भएको भवनको विभिन्न बाधा व्यावधानका बावजुद पनि निर्माण उपभोक्ता समितिले निर्माण सम्पन्न गरि आफुहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको भवन हस्तान्तरण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङ्गले बताउनु भयो ।
एकातिर लागत रकम खातामा संकलन नहुनु समस्या रहीरहेको र अर्काे तिर विभिन्न समयमा आएका ट्राफिक प्रहरी प्रमुखहरुकै कारण निर्माण कार्य चाँडै सम्पन्न नभएको निर्माण उपभोक्ता समितिका अध्यक्ष काफ्लेले बताउनु भयो । लामो समयदेखि भाडाको घरमा बसेर आफ्नो सेवा सञ्चालन गरि रहेको ट्राफिक प्रहरी कार्यालय आफ्नै भवनमा सरेपछि सेवा प्रवाहमा निकै सहज भएको प्रहरी निरिक्षक दोङ्गले बताउनु भयो ।उहाँका अनुसार बजेट नचल्ने कार्यलय रहेका कारण पनि निर्माण कार्यमा केही समस्या सृजना भएको हो ।
प्रहरी निरिक्षक दोङ्ग सर्लाही सरुवा भएर आएपछि अधुरो भवनको निर्माण तथा रंग रोगनमा चासो देखाउनु भएको र आफ्नै भवनमा ट्राफिक प्रहरी सरेको हो । अहिले भवनको कम्पाण्ड वाल लगाउने काम सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । विभिन्न दाताहरुको सहयोगमा इट्टा तथा अन्य आवश्यक निर्माण सामाग्रीहरु संकलन गरि कार्यालयको भवनको कम्पाण्डवाल लगाउने काम सुरु भएको छ ।