जिल्लाको उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको संकट झेल्दै आएका छन्। बर्सेनि सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेल्ने गरेका हुन । सुक्खा याम सुरु भएपछि चुरे क्षेत्रका धारा, ईनार, कुवा लगायतका खानेपानीका स्रोत सुक्ने गरेको स्थानीयको गुनासो छ । चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनादेखि नै खानेपानीको समस्या सृजना हुने गर्दछ ।
हिउँदका केही महिना चुरे क्षेत्रमा पर्ने भालुखोप‚ केराबारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोलालगायतका क्षेत्रमा खानेपानीको संकट हुने गरेको हो । बढ्दो वन विनाश र अवैध उत्खन्नले गर्दा पछिल्ला वर्षहरुमा खानेपानीका मुहानहरु चाँडो सुक्न थालेका छन् ।
यस क्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन्। गाउँका ४०÷४५ घरधुरीका लागि एउटा मात्रै कुवा रहेको र त्यस कुवामा रातभरि जम्मा भएको पानीले दुई÷चार घरलाई मात्र पुग्नेगरेको इश्वरपुर नगरपालिका–१२, कालीन्जोरका कान्छा लामाले बताउनु भयो । ’अहिले गाउँका अधिकांशले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेका छौँ,’ उहाँले सुनाउनुभयो ।’चुरेका वासिन्दा र वस्तुभाउले एउटै खोला÷खोल्साको पानी खान्छन्। दूषित पानी पिउँदा स्थानीय वासिन्दा बर्सेनि झाडापखालालगायत अन्य पानीजन्य रोगको शिकार बन्दै आएका छन्।’
लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले फागुन र चैतमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको गुनासो गर्नु भयो ।मुहानै सुक्न थालेपछि गाउँका धारामा कम पानी आउन थालेको छ,’ रानाले सुनाउनु भयो । ’एक गाग्री पानीका लागि पाँच घण्टासम्म कुर्नुपर्ने बाध्यता रहेको स्थानिय बासीको भनाई छ।’
खानेपानीको अभाव टार्न गत वर्ष लालबन्दी,बागमती र हरिवन नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पु¥याए पनि केही स्थान बाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयले बताएका छन् ।तर‚ नगरको उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको अभाव हुन नदिन पुराना इनार मर्मत एवम नयाँ निर्माण गर्ने र ठाउँ–ठाउँमा डिप बोरिङ गाड्ने काम भइरहेको जनप्रतिनिधिहरुले बताएका छन् ।
भने,सर्लाहीको हरिवन नगरपालिका–१, चुरेपाखोस्थित धिमिलेमा आधादर्जन गाउँलाई पानी खुवाउन ओभरहेड ट्याङकी शिलान्यास गरिएको छ । हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले उक्त ओभरहेड ट्याङकीको शिलान्यास गर्नु भएको हो ।
चालु आ.व.०७७÷०७८ को असार मसान्तसम्म सम्पन्न गर्ने गरी २ हजार लिटर क्षमताको ओभरहेड ट्याङकी निर्माण गर्न सुरु गरिएको नगर प्रमुख प्रसाईले जानकारी दिनु भयो । उक्त आयोजना अन्र्तगत १ नम्बर वडाका ७ स्थानमा त्यति नै क्षमताको ट्याङकी निर्माण हुने नगरपालिकाले जनाएको छ । रु १ करोड ५० लाख लागतमा निर्माण हुन लागेको ट्याङकीमा दुईवटा मुहानबाट पानी लिफ्टिङ गरेर लैजाने योजना रहेको नगर उप प्रमुख रेणुका पौडेलले बताउनु भयो ।
यसरी लिफ्टिङ गरिएको पानी चुरेडाँडामा रहेका बनमारा, केरावारी, थामिटोल, विलन्दी र बेलडाँडामा पाईप लाईनमार्फत वितरण गरिने छ । पानीको उपयुक्त श्रोत नहँुदा त्यहाँका स्थानीयले मूलको जरुवा पानीलाई कुवा बनाएर संकलन गरेर पिउँदै आएका छन् ।
त्यहाँ रहेको कुवा पनि हिउद्को केही महिना सुक्ने गर्दा काकाकुलको अवस्था बेहोर्नु परेको स्थानीय सोम बहादुर वाईवाले गुनासो गर्नुभयो । गाउँमा पानी ट्याङकी निर्माण हुने र घर–घरमा धाराबाट पानी आउने भएपछि स्थानीयवासी खुसी भएका छन् । नगरको अति विकट मानिने वडा नम्बर १ र आसपासका क्षेत्रमा कसरी पानी पु¥याउन सकिन्छ भनेर थप अध्ययन गरिसकेको र नजिकैको खोलाबाट लिफ्ट प्रविधिमार्फत खानेपानी पु¥याउने थप प्रयास भइरहेको नगर प्रमुख प्रसाईले बताउनु भयो ।