Close This

सर्लाहीको हरिपूर्वामा विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुवैतर्फका गरि ९ जना घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-७ गते   १८२ पटक हेरिएको

 सर्लाहीको हरिपूर्वा नगरपालिकामा विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुवैतर्फका गरी नौ जना घाइते भएका छन् । हरिपूर्वा नगरपालिका ५ मा रहेको केश्वर गरिब जनता माध्यामिक विद्यालयका विद्यार्थी र प्रहरीबीचको झडपमा सात विद्यार्थी र दुई प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  
घाइते हुने विद्यार्थीहरूमा सुजितकुमार यादव, ललित मण्डललगायत छन् भने प्रहरीतर्फ जवान विनयकुमार यादव र दिलीप नारायण यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।  घाइते विद्यार्थी र प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
प्राविधिकतर्फका शिक्षक नियुक्ति गर्दा राजनीतिक दबाबको आधारमा नियुक्ति गरेको भन्दै नगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले लाठीचार्ज गरेपछि दोहोरो झडप भएको स्थानीयवासीले बताएका छन् । आक्रोशित विद्यार्थीले नगरपालिकाको कार्यालय र हरिपूर्वा प्रहरी चौकीमा समेत तोडफोड गरेका छन् । तोडफोडबाट नगरपालिकाको कार्यालयमा रहेका दराज, टेबुल, सोफा, सीसीटीभी, ल्यापटप र कागजपत्रमा क्षति पुगेको नगरपालिकाले जनाएको छ । तोडफोडमा उत्रिएका ६ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
विद्यालयले गएको हप्ता सीटीईभीटी अन्तर्गत सिभिल इन्जिनियरतर्फ अध्यापनका लागि दुई जना प्रविधिक शिक्षक र दुई जना सहायक प्रविधिक शिक्षक गरी चार जना प्रविधिक शिक्षक नियुक्त गरेपछि विवाद सुरु भएको थियो । प्रविधिक शिक्षक नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै विद्यार्थीले एक हप्तादेखि विद्यालयमा तालाबन्दी जारी राखेका थिए । दुई वर्षदेखि अध्यापन गराउँदै आउनुभएका प्रविधिक शिक्षक पवन रायलाई नियुक्त नगरी अन्य शिक्षक नियुक्त गरिएको भन्दै विद्यार्थी आक्रोशित भएका हुन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech