गृह मन्त्रालयद्धारा गठित कार्यदलद्वारा ‘मिटरब्याजी’ बारे सर्लाहीमा छलफल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१२ गते   १५३१ पटक हेरिएको


सर्लाहीका मिटरब्याजी पीडितहरुसंग गृह मन्त्रालयबाट खटिएको कार्य दलले छलफल सुरु गरेको छ । गृह मन्त्रालयले ‘मिटरब्याज’ सम्बन्धी अपराध नियन्त्रणका लागि गठन गरेको कार्यदलले जिल्लाका सरोकारवालासँग अन्तरक्रिया सुरु गरेको हो ।
मन्त्रालयका सह–सचिव डा.भिष्म भुसालको संयोजकत्वमा गठित कार्यदलले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटरब्याजी पीडित,सुरक्षा अधिकारी,स्थानिय निकायका प्रमुख,नागरिक समाज लगायतसँग अन्तरक्रिया गरेको हो । मिटरब्याजको समस्या के हो र यसको कसरी निराकरण गर्ने ? भन्ने सम्वन्धमा सबै सरोकारवालाबीच अन्तरक्रिया भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तरक्रियामा सहभागीले विद्यमान कानून अनुसार मिटरब्याजी बलिया र पीडित कमजोर रहेको भन्दै कानून नै परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।
 कार्यदलका सदस्यले मिटरब्याजको समस्या समाधानका लागि विशेष गरी स्थानिय निकायहरुले अगुवाई लिनुपर्ने तर्क गरेका छन् । मिटरब्याजीविरुद्ध जिल्लामा भदौ ५ गतेसम्म ४ सय २७ वटा उजुरी परेका छन् । त्यसपछि पनि करिव ५० वटाजति उजुरी परिसकेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो । मिटरब्याजी आरोपी सञ्जय साह रौनियार, श्यामकृष्ण साह(श्याम परदेशी¬¬) र रामबाबु रायविरुद्ध धेरै उजुरी परेका छन् ।
अन्य केही नयाँ व्यक्तिविरुद्ध पनि उजुरी परेको र त्यसको छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । मधेश प्रदेशका जिल्लाहरुमा विभिन्न व्यक्तिले मिटरब्याज अर्थात् चर्को ब्याजमा ऋण लगानी गरी विपन्न वर्गका मानिसलाई ठगी गर्दै आइरहेका छन् । लिएको ऋण भन्दा दोब्बर÷तेब्बर बढीको तमसुक बनाएर ऋणीले सबै ऋण तिर्दा पनि तमसुक नच्यात्ने बरु उल्टै घरजग्गा लिलाम गरिदिने परिपाटी चलि आएको छ ।
कार्यदलका अनुसार देशभरमा मिटरब्याज विरुद्ध १ हजार ९ सय ३७ वटा उजुरी परि सकेका छन् भने सबै भन्दा धेरै मत्रेश प्रदेशमा १ हजार ३ सय ३० वटा उजुरी परेका छन् । त्यसैगरी सबै भन्दा कम उजुरी कर्णली प्रदेशमा २२ वटा परेको छ । प्रदेश १ मा ९२,बागमती प्रदेशमा २ सय २,गण्डकी प्रदेशमा ३५,लुम्बिनी प्रदेशमा २ सय ११ र सुदुरपश्चिम प्रदेशमा ४५ वटा मिटरब्याज विरुद्ध उजुरी परेका कार्यदलले जनाएको छ । भदौ ५ गते सम्म उजुरीको समयावधि निर्धारण गरिएको भएपनि पछिल्लो समयमा समेत उजुरी पर्ने क्रम जारी रहेको कार्यदलको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech