छिनछिनमा लाईन कट्दा सर्लाहीबासी हैरान

3.7k Shares

सर्लाहीबासी केही दिनयता छिनछिनमा विद्युत् काटिने समस्याले आजित भएका छन्। विद्युत् झ्याप–झ्याप काटिने र विद्युत् आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुँदा सर्लाहीबासी हैरान भएका हुन ।
चर्काे गर्मी मौसममा विद्युत् काटिने र न्यून भोल्टेज हुँदा पंखा नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आउने गरेको लालबन्दी नगरपालिका ६ का सुरेन्द्र बस्नेतले गुनासो गर्नु भयो । अनियन्त्रित विद्युत् कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्था आएको जिल्लाका व्यापारी,व्यवसायीहरुले गुनासो गरेका छन्।
अत्यन्त न्यून भोल्टेज हुँदा विद्युत् भएको समयमा समेत जेनेरेटर चलाएर काम गर्नुपर्ने व्यवसायीहरूको बाध्यता रहेको उधोग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले बताउनु भयो ।यस्तै, अनियमित विद्युत् कटौतीले सर्लाहीमा सञ्चालित एफएम रेडियोसमेत मारमा परेका रेडियो सर्लाहीका स्टेशन म्यानेजर सञ्जु कर्णको गुनासो छ । 
यता,क्षमताभन्दा बढी मात्रामा विद्युत् खपत हुँदा जिल्लाभर नै विद्युत प्रवाहमा बारम्बार समस्या आइरहेको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख इन्जीनियर सुधिर कुमार रायले बताउनु भयो । रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रशारण लाइन हरिपुर, बरहथवा र मलंगवा सव–स्टेशन हुँदै सर्लाही जिल्लाभर वितरण भइरहेको छ । पहिलाको तुलनामा जनसंख्या वृद्धि,उद्योग कलकारखानाको वृद्धि भएका कारण पुरानो मापदण्ड अनुसार आएको विद्युत क्षमताले भार थाम्न नसक्ने भएकाले जम्पर खानुको साथै क्षमता थेग्न नसकेर लाईन कट्ने गरेको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख इन्जीनियर रायले बताउनु भयो । 
जिल्लाका तीनवटा सव स्टेशनले ३३ केभीबाट लिएको करेन्ट पाँच सय एम्पियर सम्म पुग्ने गरेको  नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रका इन्जिनियर संयोग विश्वकर्माले बताउनु भयो । जसका कारण पनि छिनछिनमा लाईन कट्ने गरेको छ । उहाँकाअनुसार सर्लाहीमा विस्तार भएको तारको क्षमता ४३० एम्पियर मात्रै छ । यसरी तारको क्षमता भन्दा बढी करेन्ट प्रवाह हुँदा तारको कनेक्सन छुट्ने समस्या बारम्बार दोहोरिने हुँदा लाईन कट्ने गरेको विश्वकर्माले बताउनु भयो ।
वर्षा धेरै हुँदा पोल ढल्ने र चर्को घाम लागेको समयमा ओभरहिट भएर कनेक्सन छुट्ने समस्या बढी देखिने गरेको प्राविधिकहरुले बताउने गरेकाछन् । लालबन्दी नगरपालिका १ नवलपुरमा निर्माणधिन सव स्टेशन सञ्चालनमा नआउँदासम्म सर्लाहीमा विद्युतको समस्या रही रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार