सर्लाहीको बागमती नगरपालिका ८ शंकरपुरमा शनिवार दाना उधोगको शिलान्यास गरिएको छ ।बागमती नगरपालिका–८ शंकरपुरमा नगर प्रमुख भरतकुमार थापाले एक कार्यक्रमका बीच दाना उधोगको शिलान्यास गर्नु भएको हो ।
स्थानीय किसानहरुको व्यवसायिक पशु पालनमा लागत कम गर्न उधोग सञ्चालन गर्न लागिएको नगर प्रमुख थापाले बताउनु भयो । उधोग स्थापनाको पहिलो चरणमा संघिय सरकारबाट बागमती नगरपालिका मार्फत रु ५० लाख र साना किसान कृषि सहकारी संस्था लिमिटेड शंकरपुरबाट रु ५० लाख गरी जम्मा रु १ करोडको लागत साझेदारीमा आगामी असार पन्ध्र गते भित्र कम्पाउण्ड वाल र फुटपाथ निर्माण हुने संस्थाका प्रबन्धक माधव काफ्लेले जानकारी दिनु भयो ।
दाना उधोग निर्माणका लागि कुल लागत रु ५ करोड ९३ लाख ९७ हजार १ सय दस लाग्ने अनुमान गरीएको प्रबन्धक काफ्लेले बताउनु भयो । जसका लागि संघिय सरकारबाट ५० प्रतिशत अनुदान,बागमती नगरपालिकाको कृषि कार्यक्रमबाट २५ प्रतिशत र बाँकी २५ प्रतिशत रकम समुदायबाट शेयर आव्हान गरी उधोग निर्माण गरिने प्रबन्धक काफ्लेले बताउनु भयो ।
निर्माण हुन लागेको उक्त उधोगमा प्रतिघण्टा ५ टन तयारी दाना उत्पादन हुने संस्थाले जनाएको छ । कृषि जोनको रुपमा रहेको बागमती नगर क्षेत्रमा मकैँ, गँहु,आलु लगायतका अन्नबाली अत्यधिक मात्रामा उत्पादन हुने गरेको छ ।
उत्पादन भएको अन्न बाली किसानले ब्यापारीले निर्धारण गरेको थोरै मुल्यमा खेतैबाट बेच्नु पर्ने बाध्यता खेप्दै आएका थिए । उधोग सञ्चालन पछि यस क्षेत्रका किसानले उत्पादन गरेका मकै, धान गहुँलगायतका बालीले मुल्य पाउने र पशुपालन गर्ने किसानले दाना खरिदमा मुल्य कम हुने अपेक्षा गरेका छन् । उधोग शिलान्यास कार्यक्रममा नगरप्रमुख थापा, वागमती नगरपालिका ८ का वडाध्यक्ष मानबहादुर तामाङ लगायत स्थानीय किसानहरुको उपस्थिति रहेको थियो ।