जिल्लामै कोरोना परीक्षण सुरु गर्ने डीसीसीएमसी सर्लाहीको निर्णय

3.4k Shares

जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीको बैठक सम्पन्न भएको छ ।  सर्लाही सदरमुकाम मलंगवामा वुधवार साँझ जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीको बैठक सम्पन्न भएको हो ।
बैठकले मुख्य रुपमा जिल्ला सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा केही समयअघि ल्याएर राखिएको पीसीआर मेसिन संचालनमा ल्याई कोरोना परीक्षण सुरु गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले कमलामाई खबर डटकमलाई जानकारी दिनु भयो । सो पीसीआर मेसिन प्रदेश २ सरकारले केही समयअघि नै उपलब्ध गराएको थियो ।
जनशक्ति नरहेको भन्दै सो मेसिन अहिले थन्काएर राखिएको छ । यस्तै बैठकले सीमामा अनावश्यक आवागमनमा कडाई गर्ने, बाहिरबाट आएकाहरुलाई पहिला जस्तो स्थानिय निकायहरुको क्वारेन्टाइनमा भन्दा पनि होम क्वारेन्टाइनमै राख्ने, विद्यालयहरु बन्द गर्नेजस्ता निर्णयहरु डीसीसीएमसीले गरेको छ ।
सरकारले ५ सय जना संक्रमित नाघेपछि मात्रै लकडाउन गर्ने निर्णय गरेकाले जिल्लाको हकमा अहिले परीक्षण सुरु भई नसकेकाले वुधवारको बैठकमा लकडाउन बारे भने छलफल नभएको सभापति चौधरीले बताउनु भयो । बैठकमा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखहरु, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका स्थानिय निकायका प्रमुखहरु तथा स्थानिय निकायका प्रमुख प्रशासकीय अधिकृतहरु र अन्य सरोकारवालाहरु निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
नयाँ भेरियन्ट सहित दोस्रो चरणमा फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रण गर्न जिल्लाका स्थानिय निकायहरुले अहिलेसम्म पहल नगरेको भन्दै स्थानिय स्तरबाट चर्को आलोचना भइरहेको छ । संक्रमण बढ्दै जाँदा सर्वसाधारण नागरिकले समेत सतर्कता नअपनाएको पाइएको छ ।
स्थानीय प्रहरी र प्रशासनले भने आफ्नो तर्फबाट सर्वसाधारणहरुलाई मास्क लगाउन अनुरोध गर्ने र अन्य सचेतना फैलाउने काम गरिरहेका छन् । यस्तै, केही कर्मचारीमा उच्च ज्वरो आएर कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जिल्ला प्रशासन कार्यालयले वुधवारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएकोे सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले जानकारी दिनु भयो।  एन्टिजेन परीक्षण गर्दा केही कर्मचारीमा पोजिटिभ रिपोर्ट आएको थियो ।

सम्बन्धित समाचार