Close This

कोरोना संक्रमणबारे सचेतना जगाउँदै नेकपा(एमाले) सर्लाहीका नेताहरु सडकमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१६ गते   २६५ पटक हेरिएको

नेकपा (एमाले) सर्लाहीले कोरोना भाईरस संक्रमणबारे सचेतना जगाउँदै निःशुल्क मास्क वितरण गरेको छ । ‘कोभिड–१९ बाट बच्ने धेरै उपायहरु छन्, सावधानी अपनाउन कुनै अवस्थामा पनि नचुकौ’ भन्ने नारासहित नेकपा (एमाले) सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्तको अगुवाईमा एमाले नेताहरु सडकमा निस्किएका हुन् । 
नेकपा(एमाले)को भातृ संगठन युवा संघ नेपाल, अनेमसंघ र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जिल्लाको लालबन्दी बजारबाट कोभिड–१९ विरुद्ध सचेतनामूलक अभियान सुरु गरिएको नेकपा(एमाले)सर्लाहीका अध्यक्ष पन्तले जानकारी दिनु भयो ।
अभियान अन्तर्गत एमाले नेताहरुले लालबन्दी बजारमा मास्क नलगाई हिँड्नेहरुलाई निःशुल्क मास्क वितरण र सेनिटाइजरको प्रयोगसहित चेतना अभिवृद्धि गराउने काम गरेका एमाले नेता चुडामणी वाग्लेले बताउनुभयो । 
कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष पन्त, पार्टीकै जिल्ला सचिव एवम प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्का,एमाले नेता चुडामणी वाग्लेलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । लालबन्दी बजारबाट सुरु गरिएको सचेतनामूलक अभियान जिल्लाका मुख्य–मुख्य बजार क्षेत्रमा गरिने एमाले जिल्ला सचिव तथा प्रदेश सभा सदस्य लुंगेलीले बताउनुभयो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech