Close This

नेपाली बजारमा मदिरा पिउन भारतिय आउँदा कोरोना जोखिम बढ्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२४ गते   २३४ पटक हेरिएको

 नेपाल भारत सिमा नाका नजिकका पसलमा दैनिक ठूलो संख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन् । विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिम उच्च रहेको समयमा समेत सिमा नाका नजिकका पसलमा मादक पदार्थ सेवन गर्ने मानिसहरुको भिड लाग्ने गरेको छ ।
सर्लाहीमा भारतसँग सिमा जोडिएको ५१ किलोमिटर सिमा क्षेत्र रहेको छ । सबैजसो सिमावर्ती क्षेत्रमा मदिरा पसल भने पहिलेकै अवस्थामा संचालन भैरहेका छन् । पछिल्लो समय सिमा क्षेत्रमा थुप्रै स–साना मदिरा पसल संचालनमा समेत आएका छन् । भारतको विहार राज्यमा मदिरा विक्रि वितरणमा रोक लागेपछि भारतिय नागरिकहरु मदिरा पिउँन नेपाली बजारमा आउने गर्दछन् । हाल भारतमा दैनिक ठुलो संख्यामा कोरोना संक्रमित थपिरहेको जोखिमपूर्ण अवस्थामा यसरी मदिरा सेवन गर्न मानिसहरु नेपाल तर्फ आउनाले यसको जोखिम नेपालमा झन् बढेको छ । यसरी भिड बढ्दा कोरोना सर्ने जोखिम धेरै भएकाले आवतजावतमा रोक लगाईनुपर्ने सिमा क्षेत्रका बासिन्दाले बताएका छन् ।
यसरी सिमा नाकामा आउने मानिसले गर्दा समस्या सृजना हुन सक्ने नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताउनु भयो । सिमा क्षेत्रमा संचालनमा रहेका होटलहरु खुलिरहेकाले,सुरक्षालाई दृष्टिगत गर्दै कस्ता ÷ कस्ता मानिसहरुको आवतजावत छ भन्ने बिषयमा सम्वन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाई छ । 
यता, दैनिक रुपमा मादक पदार्थ सेवन गर्न मानिसहरु नेपाल तर्फ आउने गरेको भन्ने गुनासोको आधारमा पछिल्लो समय सिमा क्षेत्रमा निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनुभयो । तर सिमानाकामा  खुलेआम रुपमा मदिरा पसलहरु सञ्चालनमा रहेका छन् । 
यसरी दसगजा नजीकै मदिरा पसल संचालन गर्दासमेत यसको नियन्त्रणमा कसैको ध्यान नपुगेको स्थानियको आरोप छ । भारतिय नागरिक मदिरा सेवन गर्न नेपाल आउँदा रोग सँगसँगै सुरक्षाको हिसावले समेत खतरा रहने यस क्षेत्रका जानकारहरु बताउँछन । नियन्त्रणमा चासो नदिनेहो भने भोलिका दिनमा झन भयावह अवस्था सृजना हुने उनिहरुको बुझाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech