अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएसंगै सबै मन्त्रालयको जिम्मेवारी लिएकी छन् ।शुक्रबार राती सपथ ग्रहण गरेकी प्रधानमन्त्री कार्कीले तत्कालका लागि सबै मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन ।राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सपथ ग्रहण गराएकी प्रधानमन्त्री कार्कीले शनिबार मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना रहेको छ ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव,प्रधानन्यायाधीश,पूर्वप्रधानमन्त्रीका साथै नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु र कूटनीतिज्ञहरुको सहभागी रहेको थियो ।जेन जी पुस्ताको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि प्रतिनिधि सभाबाट सरकार गठन हुने अवस्था नबनेपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ मा राष्ट्रपतिलाई दिएको संवैधानिक अधिकारको परिभाषा गरेर पूर्व न्यायधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन।अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने म्यान्डेट दिइएको छ ।
“मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै,युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा तथा आकांक्षाअनुसार राजनीतिक दल तथा सरोकारवालाहरुसँगको परामर्श समेतका आधारमा नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबद्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी राष्ट्रपतिले कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गरेका”कार्कीको नियुक्ति पत्रमा उल्लेख छ ।
संविधानको धारा उल्लेख नगरे पनि पृष्ठभूमिमा राष्ट्रपतिले संविधानको धारा ६१ को अधिकार प्रयोग गरेका छन्।संविधानको धारा ६१ को उपधारा २,३ र ४ मा निहित अधिकार प्रयोग गरेको देखिन्छ।उपधारा २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ र निजले यस संविधान र संघीय कानुनबमोजिम आफ्नो कार्यसम्पादन गर्ने छ भन्ने उल्लेख छ ।