किसानको गोठदेखि ओठसम्मको यात्रामा मरिण सरकार

167 Shares

गोठमा भैँसी थपिँदा मात्र हैन, फिँज आउने गरि बाल्टिनमा दूध भरिँदा किसानको ओठमा मुस्कानको उज्यालो चम्किन्छ। दिनभरि गोठमा गरेको दुःख किसानले त्यो बेला भुल्छन् जब उनिहरुको श्रम नगदमा परिणत भएर हातमा आइपुग्छ ।सिन्धुलीको मरिण गाउँपालिका अहिले कृषि र पशुपालनको एउटा जीवन्त पाठशाला बनेको छ । गाउँमै रोजगारी सिर्जना गर्ने र किसानलाई आत्मनिर्भर बनाउने “समृद्ध मरिण निर्माण अभियान” अहिले किसानको गोठ–गोठसम्म पुगेको छ।उत्पादनका आधारमा दूधमा दिइने प्रोत्साहन अनुदानले स्थानीय किसानको उत्साह मात्र बढाएको नभई आसा पनि थपिएको छ।
 तीन तहको सरकार मध्य स्थानीय जनतासंग प्रत्यक्ष जोडिएको मरिण सरकारले कृषि र पशुपालनका क्षेत्रमा गरिरहेको यो ठूलो लगानीले गाउँ गाउँमै समृद्धिको नयाँ जग बसाल्न मद्दत गरिरहेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मोक्तान(प्रख्यात)ले बताए ।उनका अनुसार मरिण गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर हरेक वर्ष बजेट बिनियोजन गरिरहेको र मरिणको समृद्धिका लागि शिक्षा, स्वास्थ्य तथा भौतिक निर्माणसंगै कृषि र कृषकलाई प्राथमिकतामा राख्दै आएको छ।सम्भावित अप्ठ्यारा र चुनौतिका बाबजुद मरिण गाउँपालिकाले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल सन्तोष जनक रहेका कारण मरिणले किसान लक्षित प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 
पालिकाले गत आर्थिक वर्षबाट मात्रै सुरु गरेको दूधमा प्रोत्साहन अनुदान कार्यक्रमको उपलव्धि राम्रो देखिएकाले स्थानीय किसानहरुलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा“उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान कार्यक्रम” सन्चालनमा ल्याएपछि किसानहरुमा स्थानीय सरकारप्रति थप भरोसा थपिएको मरिण गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीले बताईन् ।उनका अनुसार मरिण गाउँपालिकाले आर्थिक वर्ष २०८१ ÷०८२ देखि किसानलाई उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान कार्यक्रम सुरु गरेको हो । 
यस वर्ष पनि उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत स्थानीय कृषकहरुलाई ५० प्रतिशत अनुदान दिने मरिण गाउँपालिका पशु शाखा प्रमुख निता खड्काले बताईन् । उनका अनुसार उक्त कार्यक्रम अन्तर्गत पालिकाले पहिलो वर्ष पालिकाका तीन कृषकहरुलाई अनुदान कार्यक्रममा छनोट गरेको थियो।जसमा मरिण एग्रो अर्गानिक कृषि तथा पशुपंक्षीका सञ्चालक मानकाजी श्रेष्ठलाई रु ७२ हजार,बजगाई कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक सुशिल बजगाँइलाई रु ५७ हजार आठ सय ९५ र बहुउद्धेश्य कृषि तथा पशुपालनका सञ्चालक गणेश थापालार्ई रु २५ हजार पाँच सय अनुदान विणरण गरिएको मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताए ।
उनका अनुसार मरिण एग्रो अर्गानिक कृषि तथा पशुपंक्षिका सञ्चालक मानकाजी श्रेष्ठले पनि गत वर्ष पालिकाले प्रदान गरेको दूधमा प्रोत्साहन अनुदानबाट ७२ हजार रुपैयाँ पाएका थिए ।अहिले श्रेष्ठसंग दूध दिने १६ वटा उन्नत जातका मुर्रा भैंसीहरु छन् ।बजगाई कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक बजागाईसंग अहिले १५ वटा दूध दिने उन्नत जातका मुरा भैंसीहरु छन्।त्यसबाट उत्पादित दूधको विक्री वितरणबाट उनले राम्रो आम्दानी समेत लिइरहेका छन्।उनलाई पालिकाले आर्थिक वर्ष २०८०÷८१ मा ५० प्रतिशत अनुदानमा तीनवटा उन्नत जातका मुर्रा भैंसीहरु उपलव्ध गराएको थियो।त्यसमा अरु भैँसी आफैँले थपेर उनि व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन्।भने अर्का किसान थापाको गोठमा अहिले सात वटा भैैंसीहरु छन्।त्यस भैंसीहरुबाट दिनको ३० देखी ३५ लिटर सम्म दूध उत्पादन हुन्छ । 
व्यावसायिक पशुपालनमा केही अप्ठ्यारा र चुनौतिहरु रहेपनि स्थानीय सरकारले गरेको सहयोग तथा निगरानीले कृषि तथा पशुपालन तर्फ उत्साह थपिँदै गएको उनीहरु बताउँछन्।किसानहरु बजगाँई,श्रेष्ठ र थापा प्रतिनिधि पात्र मात्र हुन्।मरिण गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग उपलव्ध गराएका अरु धेरै किसानहरु छन् ।

सम्बन्धित समाचार