मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित सिस्नेरीमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेको युथ १४ क्याम्पमा मृत्यु भएका सर्लाहीको लालबन्दी नगरपालिका १७ का आदित्य बलम्पाकी मगरको शव चार दिन विक्ति सक्दापनि पीडित परिवारले पाउन सकेका छैनन् ।
गत शनिबार क्याम्पबाट सुरक्षित स्थान तर्फ जाने क्रममा लालबन्दी नगरपालिका १७ रानीगन्जका मगर सहित मकवानपुरका अनुपम घलान र साइमन योञ्जन तथा काठमाडौंका रियान्स आचार्य र बाराका विकल रेग्मी र दिवस बानियाँको पहिरोमा परेर मृत्यु भएको थियो।शनिबार नै मृत्यु भएको भएपनि शव फेला नपरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले लगातार खोजेर केही समय पछि शव फेला पारेको थियो । तर अखिल नेपाल फुटबल संघ (एन्फा)ले आदित्यको शव मगंलबार पनि पीडित परिवारलाई नदिएको पीडित परिवारको गुनासो छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित सिस्नेरीमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेको युथ १४ क्याम्पमा रहँदै आएका ४० जना खेलाडीहरु मध्य छ जनाको ज्यान जानु र क्याम्पमा कुनै पनि क्षेती नहुनु लगायतका कारण एन्फाको लापर्वाही भएको भन्दै आक्रोसित पीडित परिवार र स्थानीयले एन्फाको विरोधमा सोमबार पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका १७ रानीगन्जमा करिब साँढे २ घण्टा चक्का जाम समेत गरेका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ५ घण्टा लगाएर खोजी गरी फेला पारेको शवलाई काठमाडौं लगिएको र सोमबार परिवार जनालाई जिम्मा लगाउने तयारी गरेको बताएको एन्फाले मंगलबार समेत शव नदिएको उनीहरुको गुनासो छ ।पहिरोमा परेर ज्यान गुमाएका खेलाडी आदित्यको शव बोकेर काठमाडौंबाट उडेको हेलिकप्टर मौसम प्रतिकूल बन्दा सर्लाही आउन नसकेर फर्किएको भन्दै एन्फाले सिधासाधा पीडित परिवारलाई दुःख दिने काम गरेर शव काठमाण्डौँ मै राखेको सर्लाही फुटबल संघका वरिष्ठ उपाअध्यक्ष विभु सिंह थापाले बताए ।
“अरु दुनियाँ प्लेनहरु जनकपुर तथा सिमरा आई रहेका छन्।एन्फाले शव बोकेको हेलिकप्टरलाई चाँहि कसरी मौसम प्रतिकूल भयो।यो सबै खेलाडी आदित्यका पीडित परिवार सोझा साझा भएकाले एन्फाले नाटक गरेको हो।”उपा अध्यक्ष थापाले बताए ।आफ्ना आफन्तको शव आउने आशमा बसेका पीडित परिवाले सोमबार नै शव ल्याइृदिने खबर पाएका र दाउरा समेत तयार पारेका भएपनि शव नल्याएपछि पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका १७ रानीगन्जमा करिब साँढे २ घण्टा चक्का जाम समेत गरेका थिए।त्यसपछि एन्फाका प्रतिनिधिहरुले मंगलबार बिहान ११ बजे शव ल्याई दिने बताएपछि चक्काजाम कार्यक्रम स्थगित भएको थियो ।तर मंगलबार पनि एन्फाले विभिन्न किसिमका वखेडा निकालेर शव नल्याई दिएपछि पीडित परिवार थप पीडित बनेका छन् ।