Close This

शुक्रबार राती देखि नै एकसाता लालबन्दीमा निषेधाज्ञा(लक डाउन) घोषणा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२४ गते   ३११२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले शुक्रबार मध्यरातीदेखि एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । नगरस्तरीय विपद् व्यावस्थापन समितिको शुक्रबारको बैठकले शुक्रबार राती १२ बजेदेखि आगामी वैशाख ३१ गते राती १२ बजेसम्मका लागि नगरभर निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
 नगरमा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा घोषणा गरिएको लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले जानकारी दिनुभयो ।
निषेधाज्ञाको अवधीमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्यूटीपार्लर, शैलुन, शैक्षिक संस्था, ट्यूसन सेन्टर बन्द रहने छन् । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन हुन दिईने उप प्रमुख लामाले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य संस्था र पेट्रोल पम्प खुल्ला रहने छन् । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ । बैङ्क तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गर्नुपर्नेछ ।
विवाह, व्रतवन्ध, मृत्यु संस्कारलगायतका कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बढीमा १५ जना मात्रै सहभागी हुन पाउने नगरस्तरीय विपद् व्यावस्थापन समितिले निर्णय गरेको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले बताउनु भयो ।नगरस्तरीय विपद् व्यावस्थापन समितिले औषधोपचार एवम अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने, समूहमा नहिँड्ने र भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको नगर प्रवक्ता श्रेष्ठले बताउनु भयो  ।
यो आदेशको अवज्ञा गरेमा प्रहरीले तुरुन्त नियन्त्रणमा लिएर कारवाही गर्न सक्ने छ । छिमेकी स्थानिय निकाय हरिवन नगरपालिका  र इश्वरपुर नगरपालिकाले पनि लक डाउन घोषणा गरि सकेको छ ।  लालबन्दी नगरपालिकामा पनि निषेधाज्ञा घोषणा गरिएको लालबन्दी नगरपालिकाले जनाएको छ ।
 विभिन्न कार्यालयका कर्मचारी, प्रहरीको हिरासतमा रहेका थुनुवा र लक्षण देखिएर जिल्ला अस्पतालमा पुगी थ्रोट स्वाब दिएकाहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । शुक्रबारसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङख्या २ सय ४३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवणकुमार नायकले जानकारी दिनुभयो । संक्रमितमध्ये ४ जनाको ज्यान गइसकेको नायकले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech