Close This

सर्लाहीका अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढ्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२४ गते   १८३ पटक हेरिएको

 जिल्लाको ग्रामीण क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, जिउ  दुख्ने, टाउको दुख्ने,झाडापखाला लाग्ने,पेट दुख्ने र छाती दुख्ने लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।  जिल्ला अस्पतालमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढेको प्राथमिक स्वास्थ्य केनद्र लालबन्दीका प्रमुख डा. प्रगति रानाले बताउनु भयो । 
‘अहिले कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी दैनिक २०÷३० जना आउने गरेका छन्, उनीहरू सबैमा कोभिड भएको भने होइन, लक्षण चाहिँ मिल्दोजुल्दो छ, । अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएकाले जोखिम बढेको छ, सावधानी नभए थप खतरा बढ्छ’, डाक्टर रानाले भन्नुभयो ।
बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप निकै बढेको जनस्वास्थ्य अधिकृत सत्यनारायण यादवले बताउनुभयो । ‘भाइरल ज्वरो, रुघाखोकीका बिरामी निकै बढेका छन्,  समुदायस्तरमा नै नयाँ कोरोनाको लहर फैलिएको अनुमान गर्न सकिन्छ, पीसीआर परीक्षण सहज नहुँदा नागरिकले धेरै समस्या खेप्नुपरेको छ, अब सबै स्थानिय निकायले पीसीआर परीक्षणको दर बढाउनुपर्छ, नत्र जिल्लाका स्वास्थ्य संस्थाले बिरामीको चाप थेग्न नसक्ने उहाँले बताउनुभयो । बिरामीहरूमा लगातार दुई हप्तासम्म उच्च ज्वरो र टाइफाइडको लक्षण जस्तो देखिएको र अधिकांश बिरामीले गाउँघरमा रहेका सामान्य स्वास्थ्यकर्मीसँग उपचार गराउने गरेका कारण पनि जिल्लामा कोरोना संक्रमणको त्रास बढेको चिकित्सकहरुले बताएका छन् ।
ज्वरो आएका बिरामीले बाहिर गएर उपचार गराउँदा कोरोना भाइरस देखिने डरले पनि विना परीक्षण गाउँघरमा नै उपचार गर्ने गरेका छन् । उपचारका लागि बाहिर गएकाले समेत राम्रोसँग उपचार नपाएकाले घरमै बसेर उपचार गरेको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा लालबन्दी नगरपालिकाका प्रवक्ता राजन कुमार श्रेष्ठले बताउनु भयो । । सामान्य लक्षण देखिँदा गाउँघरमै उपचार गर्ने र अवस्था गम्भीर आएपछि मात्र अस्पताल जाने गर्दा कोभिडको जोखिम झनै बढ्ने जिल्ला अस्पताल सर्लाहीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जीव सिंहले बताउनुभयो । यसैबीच कोरोनाको जोखिम उच्च देखिएको भन्दै जिल्लाका अधिकांश स्थानिय निकायहरुले कार्यलयका सेवा प्रवाह बन्द गरेका छन् भने बजार समेत बन्द गरि सकेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech