सर्लाहीमा शुक्रबार वैशाख ३१ गते मध्य रातिदेखि १० दिनका लागि निषेधाज्ञा थप गरिएको छ । बिहहीबार (आज)दिउँसो बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले भोलि(शुक्रबार) राति १२ बजेदेखि लागु हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनु भयो । उहाँका अनुसार विश्वव्यापी महामारीको रुपमा फेलिएको कोरोना भाईरस(कोभिड १९) को संक्रमण भयावह रुपमा फैलिएका कारण जिल्लामा थप निषेधाज्ञा थपनु परेको हो ।
जिल्ला भर निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर बन्द हुने छन्। स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो । जिल्ला भर स्वास्थ्य संस्था र पेट्रोल पम्प भने खुल्ला रहने छन्।
खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ । बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सञ्चालन गर्नुपर्नेछ । जिल्लामा बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ भने जिल्लामा कोरोना संक्रमणका कारण ११ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।