सरोकारवाला निकायकै मिलेमतोमा भन्सार छलीका सामान नेपाली बजारमा

2.5k Shares

 नेपाल सरकारले राजश्वमा कडाइ गरेपनि खुला सीमाका कारण सर्लाहीका विभिन्न नाकाहरुको प्रयोग गरि नेपालमा भन्सार छलीका सामानहरु भित्रनुको साथै नेपालमा प्रतिवन्ध गरिएका औषधीहरुको साथै खाद्यान्न समेत नेपाली बजारमा भित्रने गरेको पाइएको छ । 
जिल्लाको संग्रामपुर,पर्सा,त्रिभुवननगर,मलंगवा,बलरा लगायत जिल्लाको ५१ किलो मिटर खुल्ला सिमाना रहेका स्थानहरुबाट खुलेआम रुपमा नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डका तोरीका तेलहरु,अन्य खाद्यान्नहरु,कपडा,सुर्तीजन्य पदार्थहरु,नेपालमा प्रतिवन्धीत औषधीहरु लगायतका सामाग्रीहरु नेपाली बजारमा खुलेआम रुपमा भित्रने गरेका छन् ।
कमसल खालका अखाद्य वस्तुहरुको प्रयोग गरी बनाइएको भारतीय ब्राण्डका तेलहरु,भारतिय चिनी,भन्सार छली ल्याइएका कपडाहरु,सुर्तीजन्य पदार्थहरु जिल्ला सदरमुकाम मलंगवा सहित जिल्लाको लालबन्दी,हरिवन,बरथवा,बयलवास लगायत जिल्लाका साना तथा ठुला बजारहरुमा खुलम्खुला रुपमा बिक्रि हुदै आएको छ । 
तेलहरुमा तोरीको साथमा भुसी, तेल जस्तो केमिकल र सेन्टरको प्रयोग गरी सस्तोमा बनाएका तेलहरुले स्वास्थ्यलाई असर पार्ने भन्दै नेपाल सरकारले ११ वर्षअघि भारतीय तेललाई प्रतिबन्ध लगाएको थियो । सरकारले आयात तथा बिक्रिमा रोक लगाए पनि भारतीय तेल यहाँका व्यापारीहरुले तस्करहरु मार्फत मार्फत तेल ल्याएर निर्धक्क साथ बिक्रिवितरण गरि रहेका छन् ।
सिमामा पर्ने सशस्त्र प्रहरी बल कोर्डर आउट पोष्टलाई केही कमिसन दिएर लाइन मिलाएर तस्करहरुले भन्सार छलीका सामानहरु जिल्ला सदरमुकाम मलंगवा सहित जिल्लाका अन्य बजारहरुमा पुर्याउने गरेका छन् । भारतको सितामढी र सुनवर्षा बजारबाट बिना अवरोध लामो समयदेखि नेपाली बजारमा भन्सार छलीका सामानहरु आउने गरेको भएपनि सरोकारवाला निकाय मौन देखिएको छ । 
भन्सार छलेर ल्याइएका सामानहरु केही सस्तोमा विक्रि वितरण हुने गरेका कारण उनिहरुसंग  प्रतिस्पर्धा गर्न नसकेकाले व्यवसायनै धरायसी हुने अवस्थामा आएको जिल्लाका व्यापारीहरुले गुनासो गर्न थालेका छन् ।
यसरी भन्सार छलीका सामानहरु खुलेआम रुपमा नेपाली बजारमा भित्रि रहँदा समेत यसलाई रोक लगाँउन कसैले चासो नदेखाएको र सिमामा रहेको प्रहरी प्रशासनकै मिलोमतो तथा कमिसनका कारण निर्धक्क रुपमा भन्सार छलीका सामानहरु नेपाली बजारमा आउने गरेका एक व्यापारीले बताएका छन् ।
सरकारले भन्सार छलीमा रोक लगाएको भएपनि प्रहरी प्रशासन, भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयको मिलेमतोमा भन्सार छलीका सामानहरु नेपाली बजारमा खुलेआम रुपमा  भित्रि रहेका छन् ।  यसको आयात तथा बिक्रि नियन्त्रणमा कुनै चासो देखाएको पाइदैनन ।

सम्बन्धित समाचार