सिन्धुलीको कमलामाई नगरपालिकाको पुरानो सभाहलबाट निस्किएको काठ हिनामिनासँग जोडिएको विषयले अहिले स्थानीय राजनीति वृतमा मात्र नभई प्रदेशस्तरमै ठूलो तरंग सिर्जना गरेको छ।कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलमाथि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म काठ हिनामिना गरेको आरोप लागेपछि घटनाले सनसनीपूर्ण मोड लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले नगर प्रमुख पोखरेलको निवाससम्म छापा मार्न पुगेपछि विषय थप चर्किएको हो।तर,नगरप्रमुख पोखरेलले यी सबै आरोपलाई “निराधार,भ्रामक र चरित्र हत्या गर्ने नियोजित प्रयास”भन्दै सार्वजनिक रूपमा कडा प्रतिवाद गरेका छन्।
उनले पुरानो सभाहलबाट निस्किएको काठ आफूले हिनामिना गरेको भन्ने आरोपसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।उनले कानुनी निकायले अनुसन्धान गर्नु स्वाभाविक प्रक्रिया भएको भन्दै अख्तियारको छापालाई सहज रूपमा लिएको बताएका छन् ।
“अख्तियार संविधानद्वारा स्थापित निकाय हो।उसले आफ्नो जिम्मेवारी अनुसार अनुसन्धान गर्छ।मेरो घरमा छापा पर्नु अस्वाभाविक होइन,मैले यसलाई सामान्य प्रक्रियाकै रूपमा लिएको छु,”उनले पत्रकार सम्मेलन गरी बताए ।
उनका अनुसार पुरानो सभाहल भत्काउँदा निस्किएका काठहरू आफू नगर प्रमुखमा निर्वाचित हुनुभन्दा अगावैको विषय हो।सभाहल भत्काउने र नयाँ सभागृह निर्माणको जिम्मा पाएको ठेकेदारले ती काठहरू नगरपालिकाको कम्पाउन्ड भित्र सुरक्षित रूपमा राखेको थियो। “त्यतिबेला ती काठको आम्दानी नगरपालिकाले बाँधेको रहेनछ भन्ने कुरा मैले पछि मात्रै जानकारी पाएँ,”उनले स्वीकार गरे।तर,उनले यो प्रशासनिक कमजोरी भएको हुनसक्ने बताए पनि आफू त्यसमा संलग्न नरहेको दाबी गरे।
पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा नगर प्रमुख पोखरेलले पुरानो सभाहलको काठ घरमा लगेर प्रयोग गरेको र व्यक्तिगत फाइदाका लागि बेचेको जस्ता आरोपहरू तीव्र रूपमा फैलाइएका छन्।केही प्रयोगकर्ताले प्रमाण बिनै तस्बिर र टिप्पणी पोस्ट गर्दै उनलाई प्रत्यक्ष दोषी देखाउने प्रयास गरेका छन्।
यसप्रति आक्रोश व्यक्त गर्दै नगर प्रमुख पोखरेलले“प्रमाण बिनै कसैको चरित्र हत्या गर्नु लोकतान्त्रिक अभ्यास होइन।सामाजिक सञ्जालको दुरुपयोग गरेर जनप्रतिनिधिलाई बदनाम गर्ने प्रवृत्ति बढ्दो छ,यसले समग्र राजनीतिक संस्कृतिलाई नै कमजोर बनाउँछ।”
“आफू आर्थिक रुपमा सक्षम रहेको र पुराना काठको कुनै आवश्यकता छैन्।मेरो निजी जीवन व्यवस्थित छ।मैले जीवनमा अभाव देखेको छैन।सस्तो लोकप्रियता वा राजनीतिक स्वार्थका लागि लगाइने आरोपले सत्य बदलिँदैन,”उनले भने।उनका अनुसार आफू सार्वजनिक पदमा रहेकाले आलोचना सहन तयार भए पनि निराधार आरोप स्वीकार्य नहुने बताए।
अख्तियारबाट खटिएको टोली नगर प्रमुख पोखरेलको निवासमा पुगेपछि स्थानीय तहमा विभिन्न कोणबाट बहस सुरु भएको छ।कतिपयले यसलाई सामान्य अनुसन्धान प्रक्रिया भनेका छन् भने कतिपयले स्थानीय राजनीतिक प्रतिस्पर्धासँग जोडेर हेरेका छन्।“स्थानीय तहमा विकास बजेट, ठेक्का र प्रशासनिक निर्णयसँग जोडिएका विषयमा प्रायःयस्ता आरोप–प्रत्यारोप देखिन्छन्। अख्तियारको अनुसन्धानले मात्रै सत्य के हो भन्ने कुरा बाहिर ल्याउन सक्छ।”स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन् ।
यस घटनाले कमलामाई नगरपालिका भित्रको प्रशासनिक व्यवस्थापनमाथि पनि प्रश्न उठाएको छ।पुरानो सभाहल भत्काउँदा निस्किएका काठको आम्दानी किन नगरपालिकाले आम्दानीमा बाँधेन? ती काठको अभिलेख कहाँ छ?जिम्मेवार निकाय को हो ?आम सर्व साधारण नागरिकमा चासो सृजना भएको छ ।
नगरपालिकाका एक कर्मचारीका अनुसार “त्यस समयमा सम्पत्ति व्यवस्थापन र आम्दानी बाँध्ने प्रक्रिया प्रभावकारी थिएन।यही कमजोरी अहिले विवादको मूल कारण बनेको देखिन्छ।”नगरप्रमुख पोखरेलको स्पष्टिकरण आएपछि विपक्षी दलहरूले भने अनुसन्धान निष्पक्ष रूपमा हुनुपर्ने माग गरेका छन्।“स्पष्टिकरणले मात्र पुग्दैन,अख्तियारको निष्कर्ष नै निर्णायक हुनेछ। दोषी भए कानुनअनुसार कारबाही हुनुपर्छ,निर्दोष भए सार्वजनिक रूपमा सफाइ दिनुपर्छ।” उनीहरु बताउँछन् ।
यता,नगरप्रमुख पोखरेलले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सत्य तथ्य बाहिर आउने विश्वास व्यक्त गर्दै सबैलाई धैर्य गर्न आग्रह गरे।“म कानुनी प्रक्रियाबाट भाग्दिनँ।सत्य तथ्य बाहिर आउँछ भन्नेमा म पूर्ण विश्वस्त छु,”उनले भने।