Close This

जिल्लाको खर्बुजाले बजार नपाउँदा किसानहरु चिन्तीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-५ गते   २३९ पटक हेरिएको

 सर्लाहीमा उत्पादित लाखौँ मूल्यको खर्बुजा बजारमा लान नपाएपछि कुहिने अवस्थामा पुगेको छ । कोरोना महामारीका कारण बजार बन्द भएपछि जिल्लाका किसानहरुले उत्पादन गरेको खर्बुजा कुहिने अवस्थामा पुगेको हो । जिल्लाको बरहथवा नगरपालिका ७ मा स्थानीय किसानहरुले उत्पादन गरेको करिब रु १५ लाख बराबरको खर्बुजा बिक्री गर्न नपाएको किसान विशालराज गिरीले गुनासो गर्नु भयो । 
किसान गिरीले राम्रो उत्पादन र आम्दानीको आशमा साहुको डेढ बिघा जमिन भाडामा लिएर खर्बुजा खेती गरेका थिए । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समयमा निषेधाज्ञा घोषणा भएपछि  खर्बुजा बजारमा लान नपाउँदा किसानहरु चिन्तीत भएका छन् ।
बजार बन्द भएपछि  खर्बुजा कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ताले किसानहरुलाई पिरोलेको छ । बजार सबै बन्द छ । आफैँले खाएर सक्ने कुरा पनि होइन । खर्बुजा बिक्री नभएपछि खेती गर्दा ऋण गरेर लगानी गरेको रु ३ लाख २५ हजार कसरी तिर्ने भन्ने चिन्ताले आफुलाई सताउन थालेको गिरीले बताउनु भयो । 
गिरीले साहुसँग बिघाको वार्षिक रु ७५ हजारका दरले डेढ बिघा खेत भाडामा लिएको बताएका छन्  । खर्बुजाबाट राम्रो आम्दानी होला र परिवारको भरणपोषण गरौँला भनेर लगाएको खेती बिक्री गर्न नपाउँदा निकै दुःख लागेको उनको गुनासो छ ।  आफ्ना साथीहरु वैदेशिक रोजगारी तथा व्यापार व्यावसायमा रहेका भएपनि उनको रुची कृषि कर्ममा विशेष रहेको थियो । गिरीले इजरायली नश्लका ५ जातका खर्बुजा लटरम्मै फलाएका छन्् । उनले लगाएका खर्बुजा एक थरी साढे ३ किलोसम्मका र अर्का थरी ५ किलोसम्मका फलेका छन् । उनका अनुसार उत्पादन भएको ७० क्विन्टल खर्बुजा खेतमा अलपत्र परेको हो । वैशाखको पहिलो साताबाटै खर्बुजा बिक्रीका लागि तयार भएको गिरीले बताएका छन् ।

तर, बिक्री नहुँदा खर्बुजा कुहिन सुरु गरिसकेको उनको भनाई छ । मौसम समेत अनुकूल नबन्दा फल बोटबाटै छुट्टिन थालेको उनको भनाइ छ ।खेतमा रहेको खर्बुजा जेठ अन्तिमसम्म बिक्री गर्न नसके सबै कुहिने भन्दै जिल्लाका खर्बुजा उत्पादक किसानहरु समस्यामा परका छन् । जिल्लामा कोरोेना संक्रमण नियन्त्रणका लागि वैशाख २५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech