Close This

लालबन्दीमा खाद्य बैंक स्थापना

रासस    प्रकाशित: २०७७-१-३ गते   १०४१ पटक हेरिएको

लकडाउनपछिको सम्भावित खाद्य संकटलाई ध्यानमा राखेर सर्लाहीको लालबन्दी नगरपालिका ५ ले ‘खाद्य बैंक’ स्थापना गरेको छ ।न्यून आय भएका परिवार र सबै प्रकारका मजदुरलाई खाद्यान्न वितरणका लागि खाद्य बैंक स्थापना गरिएको वडा अध्यक्ष मोहनहरी भण्डारीले बताउनु भयो।
वडा स्तरीय समिति गठन गरेर वडा कार्यालयमा स्थापना गरिएको खाद्य बैंकमा दाताहरुले चामल, दाल, नुन, तेल जम्मा गर्नसक्ने छन् । दाताहरुले आफूसंग भएको खाद्यान्न जम्मा गर्न सक्ने र त्यसको अभिलेख राख्ने गरी व्यवस्था मिलाइएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । ‘कोरोना महामारीको कारण भएको लकडाउनबाट प्रभावित परिवारलाई बांड्ने खाद्यान्न जम्मा गर्न खाद्य बैंक स्थापना गरिएको हो,’ भण्डारीले भने, ‘कैयौं व्यक्तिसँग नगद रकम नहुने तर खाद्य वस्तु हुने भएकाले उनीहरुको सहयोगलाई एकीकृत गर्न खाद्य बैंक उपयुक्त हुनेछ ।’
खाद्य बैंकमा संकलन भएको खाद्यान्न सरकारी राहत वितरण पछि वडाबासीहरुको स्थलगत अनुगमन गरेर छुटेका अति गरीव विपन्नहरुलाई वितरण गरिने अध्यक्ष भण्डारीले बताउनु भयो । कोरोना भाइरसको जोखिम जस्तै अन्य विपद् र संकटका बेला पनि खाद्य बैंकलाई निरन्तरता दिइने उहाँले बताउनु भएको छ । खाद्य बैंक स्थापनाले चामललगायत खाद्यान्न पर्याप्त मात्रामा संकलन हुने वडा कार्यालयले  अपेक्षा गरेको अध्यक्ष भण्डारीले बताउनु भयो  । खाद्य बैंकमा हाल सम्म २० क्विन्टल खाद्यान्न संकलन भईसकेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech