Close This

बागमतीमा बाढी तथा डुबानको उद्धार प्रदेश स्तरीय पूर्व तयारी अभ्यास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-५ गते   ३०९२ पटक हेरिएको

सर्लाहीको बागमतीमा बाढी तथा डुबानको समयमा गरिने उद्धार कार्यको प्रदेश २ स्तरीय संयुक्त अभ्यास गरिएको छ । प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनकपुरले बागमती नगरपालिकाले निर्माण गरेको नेपालकै ठुलोमानव निर्मित १२१ बिघाको तालमा संयुक्त अभ्यास कार्य सम्पन्न गरेको हो । 
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारका बारे संयुक्त रुपमा अभ्यास प्रस्तुत गरेका थिए । त्यहाँ बोटबाट गरिने उद्धार र डोरी तानेर गरिने उद्धारको अभ्यास देखाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रदेशभित्रका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश २ सरकारका प्रमुख सचिव गोकर्ण मणि दवाडी, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मुख्यमन्त्री कार्यालयका सचिव यामप्रसाद भुषाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र यादव, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह, प्रदेश प्रहरीका प्रमुख डीआईजी धीरज प्रताप सिंह, सशस्त्र प्रहरीका प्रदेश प्रमुख डीआईजी चन्द्रप्रकाश गौतमलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले बर्षायाममा प्रदेशका सबै जिल्लामा बाढी तथा डुबानको समस्या हुने भएकाले प्रभावितहरुको उद्धार र सुरक्षित बसाईको व्यवस्थापनमा जुट्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भयो । केही दिन पहिले सर्लाहीका सुरक्षा निकायले बागमतीको सोही तालमा जिल्ला स्तरीय बाढी तथा डुबानको पूर्व तयारी अभ्यास गरेका थिए । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech