Close This

सर्लाही ट्राफिकद्धारा जेठमा करिब २० लाख राजश्व संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-५ गते   १७७ पटक हेरिएको

 जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरुलाई कारबाही गरी करिब २० लाख राजश्व संकलन गरेको छ । जेठ महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले २ हजार वटा सवारी साधनलाई कारवाही गरी रु १९ लाख ८९ हजार राजश्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले बताउनु भयो ।
जिल्लामा  १ हजार ६२ वटा ट्रक, ३ सय २० वटा कार,जिप र भ्यान,९ वटा ट्याक्टर,६ सय ६ वटा मोटरसाईकल र अटो टेम्पो लगायत अन्य गरी ३ वटालाई कार्बाही गरि सो मात्रामा राजश्व संकलन गरेको हो । १ हजार ६२ वटा ट्रकलाई कार्बाही गरी रु १३ लाख ४७ हजार, ३ सय २० वटा कार,जिप र भ्यानलाई कार्बाही गरी २ लाख ४७ हजार, ९ वटा ट्याक्टरलाई कार्बाही गरी रु ६ हजार,६ सय ६ वटा मोटरसाईकललाई कार्बाही गरी रु ३ लाख ८७ हजार ५ सय र अटो टेम्पो लगायत अन्य गरी ३ वटालाई कार्बाही गरि रु १ हजार ५ सय गरी कुल १९ लाख ८९ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
वैशाख महिनामा ९ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ६ जना गंभिर घाईते र १ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक दोङले जानकारी दिनु भयो । जसमा सबै भन्दा बढी मोटरसाईकल ७ वटा र ट्याक्टर २ वटा दुर्घटना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक दोङले बताउनु भयो ।
ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी ट्रक कारवाहीमा परेका ट्राफिक प्रहरी प्रमुख  दोङले बताउनु भयो ।  ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारी साधन, दुई जनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई र आवश्यक कागजात नबोकी चलाएका सवारी साधनहरुलाई कारवाही गरिएको उहाँले बताउनु भयो । 
ट्राफिक प्रहरीले वैशाख महिनामा २० लाख ६३ हजार राजश्व संकलन गरेको थियो भने जेठ महिनामा कार्बाही घटेका कारण राजश्वमा पनि केही कमि आएको ट्राफिक प्रहरीले जनाएको छ । सर्लाही ट्राफिक प्रहरीले जिल्लाको सवारी व्यावस्थापनमा निकै चासोका साथ काम गरेको छ । 
भारतिय नम्बरका सवारी साधनको हालीमुहाली रहेको सर्लाहीमा पछिल्लो समयमा त्यस्ता सवारी साधनहरु निकै कम भएका ट्राफिक प्रहरीले दाबी गरेको छ । ट्राफिक प्रहरीका अनुसार कोरोना भाइरसका कारण सिमानाका लगायत जिल्लामा निषेआज्ञा लागु भएपनि राजश्व र कार्बाहीलाई निरन्तरता दिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech