अवैध उत्खनन गर्ने सवारी लालबन्दी प्रहरीको नियन्त्रणमा

3.4k Shares

सर्लाहीको लालबन्दीमा रहेको  ईलाका प्रहरी कार्यालय लालबन्दीले अवैध रुपमा खोला उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ । असारदेखि भदौसम्म तीन महिना खोलानालामा उत्खनन गर्न पाइदैन् तर यहाँको कालिन्जोर र लखन्देही खोलामा लुकिछिपी उत्खनन भइरहेको पाइएपछि उत्खननमा संलग्न सवारी साधानलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयो । 
नदीजन्य पर्दाथ दोहन गरेका एक दर्जन बढी ट्याक्टर र दुईवटा टिपर नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि लालबन्दी नगरपालिकाको जिम्मा लगाइएको प्रहरी प्रमुख प्रहरी निरीक्षक थापाले बताउनु भयो ।
प्रहरीको आँखा छलेर ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन हुने गरेको पाइएपछि निगरानी बढाइएको प्रहरी निरिक्षक थापाले बताउनु भयो । प्रहरीले बुझाएको सवारी साधनलाई नगरपालिकाले पहिलो पटक जरिवाना तिराएर छाडिरहेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका आचार्यले बताउनु भयो । उहाँका अनुसार टिपरलाई जनही रु पाँच हजार र ट्याक्टरलाई जनही रु दुई हजार जरिवाना तिराएर छाडिएको हो । 
असार, साउन र भदौ तीन महिना खोलानाला उत्खनन गर्न नपाइने भएकाले आफूहरुको क्षेत्रमा त्यसरी अवैध उत्खनन भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सम्बन्धित समाचार