Close This

राहतको विषयमा झडप हुँदा २ प्रहरी घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-४ गते   ९९३ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ गौरिशंकरमा राहतको विषयमा झडप हुँदा २ जना प्रहरी घाईते भएका छन ।वडा कार्यालयमा राहतको विषयमा स्थानीय बासिन्दाको एक समूह र वडाध्यक्ष सहित जनप्रतिनिधिहरुबीच विवाद हुँदा झडप भएको थियो । सो झडप शान्त पार्न पुगेको प्रहरी टोलीमाथी स्थानीय बासिन्दाको एक समूह खनिएपछि प्रहरीले भिड नियन्त्रणमा लिन दुई सेल अश्रुग्याँस प्रहार गरेको थियो ।
मंगलबार वडा कार्यालयमा राहतको विषयमा छलफल भई रहेको समयमा वडा कार्यालयमा पुगेको १५० जनाको समूहले आफूहरुको नाम राहत पाउने लिष्टमा नरहेको भन्दै वडाध्यक्ष सहित जनप्रतिनिधि र कर्मचारीमाथि हातपातको प्रयास गरेका थिए । सो जानकारी पाउँने लगतै पुगेको प्रहरी टोली माथी आक्रमण सुरु भएपछि प्रहरीले बाध्य भएर २ सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।उहाँका अनुसार  गाउँलेले प्रहार गरेको ढुुंगाले लागेर प्रहरी सहायक निरीक्षक विरेन्द्र यादव तथा प्रहरी जवान भागेश्वर यादव घाईते भएका छन् ।
‘राहत पाउने लिष्टमा आफूहरुको नाम नपरेको भन्दै वडाध्यक्ष लगायतसँग विवाद गरिरहेको समूहलाई सम्झाई बुझाई पठाउन खोज्दा सुरक्षाकर्मीमाथि नै ढुंगामुढा प्रहार गरे’, प्रहरी उपरिक्षक पोख्रेलले बताउनु भयो ।‘ढुंगाले लागेर सुरक्षाकर्मी नै घाईते भएकाले भिड नियन्त्रण गर्न बाध्य भएर अश्रुग्याँस प्रहार गर्नु परेको उहाँले बताउनु भयो ।  
वडाध्यक्ष कपिलदेव चौधरी धाँमीले कार्यालयमै आफूहरुमाथि आक्रमण भएको बताउनु भएको छ । राहत वितरण गर्नका लागि जनप्रतिनिधि एवं केही राजनैतिक दलका प्रतिनिधिबीच कार्यालयमा छलफल भई रहेको समयमा आफुहरुमाथी एक समूह कार्यालयमै आएर हाम्रो नाम किन राहत पाउने लिष्टमा नराखेको भन्दै हातपात गर्न सूरु गरे ।’ वडा अध्यक्ष धामीले राससलाई बताउनु भयो ।
राहत वितरणको विषयमा निर्णय लेखिएको पुस्तिका समेत नियन्त्रणमा लिएर उक्त समूहले च्यातिदिएको वडाध्यक्ष धाँमीले बताउनु भयो । नाम छुटेको भए सर्वदलिय बैठक बसेर सच्याउँछौं भन्दाभन्दै उक्त समूह हातपातमै उत्रिएको वडाध्यक्ष धाँमीको आरोप छ ।वडाभित्र राहत पाउनका लागि हालसम्म ५ सय ३४ घरधुरीको नामावली संकलन भएको उल्लेख गर्दै वडाध्यक्ष धाँमीले पाउनैपर्ने वास्तविक घरधुरी छुटेको भए अझैपनि सर्वदलिय बैठक बसेर सच्याईने बताउनु भयो ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण खानै नपाउने अवस्थामा पुगेका अति विपन्न परिवारलाई हाल जिल्ला स्थित विभिन्न स्थानीय तहले धमाधम राहत स्वरुप खाद्यान्न वितरण  गरिरहेका छन् । कतिपय स्थानीय तहमा भने नाम संकलनकै क्रममा विवाद भएकाले राहत वितरण सूरु नै हुन सकेको छैन । राहत पाउने नाममा राजनैतिक रंग दिने प्रचलनका कारण विवाद बढ्ने गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech