सर्लाहीको बागमती नगरपालिका ११ को नव जन जागरण माध्यामिक विद्यालयमा अध्यनरत छात्राहरुलाई साईकल वितरण गरिएको छ । शुक्रवार प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा साईकल वितरण गरिएको बिद्यालयले जनाएको छ ।
प्रदेश सरकारको मुख्य मन्त्री बेटी बचाउ, बेटी पढाउँ कार्यक्रम अन्तरगत विद्यालयलाई प्राप्त साईकल कक्षा ८ मा अध्यनरत छात्राहरुलाई वितरण गरिएको नव जन जागरण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर खड्काले जानकारी दिनु भयो ।
विद्यालयमा अध्यायनरत ६५ जना छात्राहरुलाई साईकल प्राप्त भएको विद्यालयले जनाएको छ । साईकल पाएपछि ग्रामिण भेगका छात्राहरुलाई विद्यालय सम्म आवतजावत गर्न सहज हुने भएको छ । साईकल वितरण कार्यक्रमले यस प्रदेशमा लामो समय देखी विकृती बनेको छोरी नपढाउने परिपाटीको अन्त्य गर्न मद्दत पुगेको कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य उप्रेतीले बताउनुभयो । बागमती नगरपालिकाले शिक्षा क्षेत्रमा ल्याएको आमुल परिवर्तनका कारण सामुदायिक विद्यालयमा बिद्यार्थी र अभिभावकको आकर्षण बढेको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न साईकल वितरण कार्यक्रममा प्रदेश सभा सदस्य उप्रेती प्रमुख अतिथि,बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा विशिष्ठ अतिथि तथा नगर उपप्रमुख लिला कुमारी मोक्तान, विद्यालयका पुर्व व्यवस्थापन समिति अध्यक्ष भिम बहादुर कोईराला, अभिभावक संघका अध्यक्ष भुपेन्द्र मान श्रेष्ठ, संसदिय विकास कोष परिचालन समिती सदस्य एवम नेता बसन्त राज भट्टराई, शिक्षा शाखा प्रतिनिधि ओम कार्की लगायतको उपस्थिती रहेको थियो ।