समयमै स्थानीय तह निर्वाचन गर्न माग गर्दै अनेरास्ववियू सर्लाहीद्धारा ज्ञापन पत्र

4k Shares

तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै नेकपा(एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियू सर्लाहीले आज(सोमबार) सरकारलाई ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय कमिटीको सर्कुलर अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत संघिय सरकारलाई ज्ञापन पत्र बुझाइएको अनेरास्ववियू सर्लाहीका सचिव आशिष बाबु दाहालले जानकारी  दिनु भयो ।
अनेरास्ववियू सर्लाहीका अध्यक्ष प्रज्वल ढुंगाना सहितका विद्यार्थी नेताहरुले सोमबार(आज) दिउँसो जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पुगेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम मार्फत संघिय सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् । तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकारसँग ज्ञापन पत्रमा माग गरिएको छ । चुनावको मिति घोषणा नगरिए लोकतन्त्र बचाउने लडाइमा सडक संघर्षमा उत्रिने अनेरास्ववियूले ज्ञापन पत्र मार्फत सरकारलाई चेतावनी दिएको छ ।
नेकपा(एमाले)का विभिन्न भातृ संगठनहरुले तत्कालै स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई दबाब दिने उद्देश्यले देशभरै प्रदर्शन गर्न थालेका छन् । ५ दलिय सत्ता गठवन्धनले आगामी जेठ मसान्तसम्म स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपनि मिति भने तय नगरेका कारण आफुहरुले पनि ध्यानाकर्षण गराएको अनेरास्ववियू सर्लाहीका अध्यक्ष ढुंगानाले बताउनु भयो । निर्वाचन आयोगले दुई पटक सरकारलाई पत्र लेखेरै यथाशीघ्र चुनावको मिति घोषणा गर्न आग्रह गरिसकेको छ ।

सम्बन्धित समाचार