Close This

भारतीय सिमामा जंगे पिलरको खोजिमा प्रदेश प्रमुख डा.झा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१९ गते   ८८ पटक हेरिएको

 प्रदेश दुईका प्रदेश प्रमुख डा.राजेश झा(अहिर।ज)ले सर्लाही स्थित भारतीय सीमा क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । प्रदेश प्रमुख कार्यालयका सचिब ध्रुव गैंडा, नेपाल प्रहरीका प्रदेश दुई प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश रन्जितकार, सशस्त्र प्रहरी बलका प्रदेश दुई प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई लिएर प्रदेश प्रमुख डा. झा प्रदेशका जिल्लाहरुको सिमानाका र जंगे पिलरको अनुगमनमा निस्कनु भएकोछ ।


अविरल वर्षाको समयमा पनि प्रदेश प्रमुख डा.झा प्रदेशका जिल्लाहरुको सिमानाका तथा जंगेपिलरहरुको अनुमगनमा निरन्तर खटिनु भएको छ । सोही क्रममा उहाँले जिल्लाको पूर्वी संग्रामपुर नाकादेखि पश्चिम मधुवनी नाकासम्मको सिमाक्षेत्र निरीक्षण गर्नु भएको हो । प्रदेश प्रमुख डा.झाले संग्रामपुर नाका, त्रिभुवननगर नाका, भाँडसर नाका, खुटौना नाका, सिमरा फेनरा नाका र मधुवनी नाका स्थित दशगजामा रहेको जंगे पिलर तथा साना पिलरहरुको निरीक्षण गर्नु भएको छ ।


सिमा क्षेत्रको निरीक्षणका क्रममा प्रदेश प्रमुख डा.झाले नेपाल र भारत दुवै देशका नागरिकसँग स्थानीय अवस्थाका बारेमा सामान्य जानकारी समेत लिनु भएको छ । त्यस्तै झाले अविरल वर्षाले डुबानमा परेको भाँडसर क्षेत्रको निरीक्षण एवम डुबान पीडित स्थानीय बासिसंग भेट समेत गर्नु भयो । वर्षाका कारण हुलाकी एवम नाका क्षेत्र जाने सहायक सडकहरु क्षतविक्षत बनेका कारण प्रदेश प्रमुख डा.झाले पटक–पटक पैदलयात्रा गर्नु परेको थियो । 


सशस्त्र प्रहरी बल १० नम्बर हे.क्वा.गण कबिलासीमा प्रदेश प्रमुख डा.झाले आँप लिच्ची लगायत फलफूलका विरुवा समेत रोप्नु भएको थियो । अवलोकन निरीक्षणमा नेपाल प्रहरीका सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल १० नं.हे.क्वा. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिलिपकुमार सिंह, नेपाली सेना भैरवी दल गण मलंगवा गुल्मका गुल्मपति सेनानी श्याम थपलिया लगायतको सहभागिता रहेको थियो । संग्रामपुरबाट प्रवेश गर्नु भएका डा. झा मधुवनी नाका निरीक्षण पश्चात बरहथवा–नयाँरोड हुदै जनकपुर फर्किनु भएको छ ।
 विभिन्न मिडियाले प्रदेश दुईका भारतीय सिमा मिचिएको लगायत समस्या रहेको औंल्याएपछि प्रदेश दुईको अभिभावकको हिसाबले सर्लाही स्थित भारतीय सिमाक्षेत्रको स्थलगत अवलोकनमा आफु निस्किएको प्रदेश प्रमुख डा.झाले बताउनुभयो ।
‘भारतीय सिमाक्षेत्रमा अतिक्रमणको अवस्था, स्थानीय बासिन्दालाई आईपरेका समस्या तथा बाढी र डुबानको अवस्थाका बारेमा बुझ्नका लागि प्रदेश प्रमुख डा. झाले स्थलगत भ्रमण गर्नु भएको हो’, प्रदेश प्रमुख कार्यालय जनकपुरका सचिब गैंडाका अनुसार ‘विभिन्न मिडियामा आएजस्तो सिमा अतिक्रमणमा ठूलो समस्या नदेखिएको बरु असरल्ल र अव्यवस्थित देखिएको हुँदा दुवै देशको आपसी समझदारीमा व्यवस्थपनको खाँचो रहेको देखिएको छ, सर्लाही स्थित दशगजामा दुवै देशको तर्फबाट नभई नागरिक स्तरबाट अव्यवस्थित बसोबास एवम प्रयोग भएको देखियो । त्यस्तै केही ठाउँमा पिलरहरु पुननिर्माण, मर्मत संभार लगायत गर्नुपर्ने अवस्थामा पनि रहेका देखिएको प्रदेश प्रमुख कार्यालय जनकपुरका सचिब गैंडाले बताउनुभयो ।’ सर्लाहीमा भारतीय सिमाक्षेत्र ५१ किलोमिटर पर्दछ । 
प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका भनि विभिन्न मिडियाहरुमा समाचार आएका थिए । प्रदेश २ का आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिम पर्साको ठोरीसम्म ४ सय ६४ किलोमिटर क्षेत्रमा रहेका ४ हजार २७ सीमास्तम्भमध्ये ८ सय ४९ वटा सीमास्तम्भ हराएका भनि समाचार सम्प्रेषण भएको थियो ।
स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सम्बन्धित निकायको टाउको दुखाइ बनेको नेपाल भारतबीच देखिएको सीमा समस्यालाई दीर्घकालीन समाधानतर्फ दुवै देशका सरकार गम्भीर हुनुपर्ने प्रदेश प्रमुख डा.झाले अनुगमनको क्रममा बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech