Close This

लालबन्दीका गाउँ गाउँमा घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२१ गते   ९१ पटक हेरिएको

  सर्लाहीको लालबन्दी नगरपालिकाका १० वटा वडामा घट्ना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर सम्पन्न भएकोे छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँगको समन्वयमा लालबन्दी नगरपालिकाले वडा नं. १ देखि १० सम्म उक्त शिविर संचालन गरेको थियो ।
जसमा १ सय ६० जनाले घटना दर्ता र १ सय ५ जनाले सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता गराएका नगरपालिकाको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा शाखाकी कर्मचारी सुस्मिता गौतमले जानकारी दिनु भयो ।
अहिलेसम्म सबैभन्दा धेरै वडा नं. २ मा २१ जनाको घटना दर्ता र २२ जनाको सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता भएकोे छ । यस्तै, सबैभन्दा कम वडा नं. ९ मा ७ जनाले घटना दर्ता गराएका छन् भने २ जनाले सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता गराएका छन् ।
सोही किसिमको शिविर सोमबारबाट वडा नं. ११, १२ र १३ मा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।  नगरपालिकाको दुर्गम क्षेत्रमा पर्ने वडा नं. १४ नारायणखोलामा भने खोलामा बाढी आइरहेकाले तत्काल त्यहाँ गएर शिविर संचालन गर्न सक्ने अवस्था नरहेकाले दोस्रो चरणमा सोमबारबाट वडा नं. ११, १२ र १३ मा शिविर सुरु गरिएको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर प्रवत्ता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँका अनुसार प्रत्येक वडाको दुई स्थानमा तीन÷तीन दिन शिविर संचालन गरिँदै आएको छ । नेपाल सरकारले जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद, बसाइँसराई र सामाजिक सुरक्षा भत्ताबाट कोही पनि बन्चित नहुन् भन्ने उद्देश्यले गाउँ, बस्तीमै कर्मचारी खटाएर शिविर संचालन गरिरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech