Close This

ग्रामीण क्षेत्रका महिला हिंसा सह्न बाध्य

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२४ गते   ११० पटक हेरिएको

सर्लाहीको ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरु पारिवारिक हिंसा सहन बाध्य छन् । घुम्टो प्रथा, पारिवारिक बन्धन र चेतना अभावका कारण ग्रामिण भेगका महिलाहरु हिंसा सहन बाध्य भएका हुन ।
पारिवारिक हिंसा तथा समाजका विभिन्न पक्षबाट पीडित हुनुपर्दा न्यायका लागि उनीहरु प्रहरी कार्यालय तथा सरोकारवाला निकाय समक्ष जान सकिरहेका छैनन् । जिल्लामा महिला अधिकारकर्मीहरुको पनि उपस्थिति नरहेकोले यस्तो अवस्था आएको हो । पुर्खाको पालादेखि चल्दै आइरहेको घुम्टो प्रथाले अहिले पनि समाजमा जरो गाडेको  कविलासी नगरपालिका ९ की स्वास्थ्यकर्मी शिक्षिका मौसम यादवले बताउनु भयो । विभिन्न पक्षहरुबाट पीडित बनिरहेका जिल्लाका अधिकांश महिलाहरु हिंसा सहेर बस्न बाध्य छन् । उनीहरुको सुरक्षा र न्यायसम्म पहुँच पुग्न नसकेको उहाँले बताउनुभयो ।
परिवारको दबाब र पितृसत्तात्मक सोंचका कारण महिलाहरु घर भित्र हिंसा सहेर बस्ने तर प्रहरी कार्यालय र सरोकारवाला निकाय सम्म जान नसक्ने अवस्था छ । यस्ता महिलाहरुले आँट गरेर न्याय प्राप्तिको लागि सरोकारवाला निकाय सम्म जानुपर्ने स्वास्थ्यकर्मी यादवले बताउनुभयो । यस्तै अहिले ग्रामीण भेगका केही महिलाहरु न्यायको लागि प्रहरी कार्यालय सम्म जाने आँट देखाए पनि पारिवारिक बन्धनले गर्दा धेरै पीडित महिलाहरु अगाडी आउन नसकेका मलंगवा नगरपालिका ५ भाडसरकी अर्की महिला मुक्ता यादवले बताउनु भयो ।
ग्रामीण स्तरमा हिंसा सहेर बस्न बाध्य महिलालाई सुरक्षा र न्यायसम्म पहुँच पुर्याउनको लागि जनचेतनामा जोड दिनुपर्ने कबिलासी नगरपालिका ९ सलेमपुरकै समाजसेवी दिनेश यादवले बताउनु भयो ।गाउँ गाउँमा अब जनप्रतिनिधिहरु आइसकेकोले उनीहरुकै मार्फत हिंसा र पीडामा परेका महिलाहरुलाई सुरक्षा र न्याय सम्म पहुँच पुर्याउन जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने यादवले बताउनु भयो । तर अशिक्षाका कारण जिल्लाका ग्रामिण भेगका महिलाहरु घरेलु हिंसाको सिकार भई रहेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech