सर्लाहीको ब्रम्हपुरी गाउँपालिका २ बाट हतियारसहित तीन युवक पक्राउ परेका छन् । ब्रहमपुरी गाउँपालिका २ बाट २ थान पेस्तोल, त्यसमा प्रयोग हुने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय नुर आलम मन्सुर र १९ वर्षीय इवरान रायभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियारसहित भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रम्हपुरीबाट खटेको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई हातहतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खुल्ला सिमाना भएका कारण पनि प्रदेश २ का जिल्लाहरुमा भारतिय हातहतियार भित्रने र अपराधिक गतिविधिहरु हुने गरेका छन् । प्रदेश २ का ८ जिल्लाले छिमेकी देश भारतलाई प्रत्यक्ष छुने गरेका र सामान्य घरायसि सामान किनमेलका लागि पनि नेपालहरु भारतिय बजारमा र भारतियाहरु नेपाली बजाउने आउने जाने गरेका कारण पनि आफुहरुले सोचे अनुसारको काम गर्न नपाएको प्रहरीको गुनासो छ ।