सिन्धुलीको फिक्कल गाउँपालिकाले साउन १ गतेदेखि कोभिड –१९ विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै खोप अभियान सञ्चालन गर्ने जनाएको हो ।
सूचनामा साउन १ गतेदेखि सञ्चालन हुने खोप अभियानमा यसअघि कुनै खोप नलगाएका ५५ वर्ष वा सोभन्दा सबै नागरिकहरू, सार्वजनिक यातायातमा कर्यरत चालक तथा सहचालकहरू, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू, अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्तिहरू र कोभिड –१९ को खोप लगाएको हुनुपर्ने अनिवार्य गरेको देशमा जाने नेपाली नागरिकहरूलाई खोप लगाउन खोप केन्द्रमा उपस्थित हुन सुचना मार्फत आग्रह गरिएको फिक्कल गाउँपालिका ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता राजु बरालले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नं. १ को महादेवडाँडा स्वास्थ्य चौकीमा साउन २ गतेदेखि ४ गतेसम्म, वडा नं. २ को स्वास्थ्य चौकी सुमनाम पोखरीमा साउन १ गतेदेखि ३ गतेसम्म, वडा नं. ३ को स्वास्थ्य चौकी खोलागाउँमा साउन १ गतेदेखि ३ गतेसम्म, वडा नं. ४ को स्वास्थ्य चौकी खाङसाङमा साउन १ गतेदेखि ३ गतेसम्म, वडा नं. ५ को सोल्पाठाना खोप केन्द्रमा साउन १ गतेदेखि ३ गतेसम्म र वडा नं. ६ को स्वास्थ्य चौकी रत्नावती खोप केन्द्रमा साउन १ गतेदेखि ३ गतेसम्म खोप लगाउन सकिने प्रवक्ता बरालले बताउनु भयो ।