Close This

राससको प्रधान सम्पादकमा पाठक नियुक्त,कार्यकारी अध्यक्ष अधिकारी र महाप्रबन्धक राईद्धारा बधाई ज्ञापन

रासस    प्रकाशित: २०७८-३-३१ गते   ७४ पटक हेरिएको

राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादकमा एकराज पाठक नियुक्त हुनु भएको छ ।  हाल कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य रहनु भएका उहाँले १० औँ तहमा बढुवासहित आउँदो साउन १ गतेदेखि लागु हुने गरी प्रधान सम्पादकको जिम्मेवारी प्राप्त गर्नु भएको हो ।
पाठकलाई बिहिबार रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीको उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिनु भयो । साथै नवनियुक्त नायब महाप्रबन्धकहरूले पनि उहाँलाई बधाई दिनु भएको छ ।  यसैगरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तरराष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा बढुवा हुनु भएकोमा अध्यक्ष तथा महाप्रबन्धकले बधाई दिनु भयो ।
हाल रासस आलेख शाखाका प्रमुख पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गर्नु भएकोथियो । उहाँसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव रहेको छ ।
सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तकका लेखक पाठकले यसअघि राससका उपप्रमुख समाचारदाता, अन्तरराष्ट्रिय समाचार डेस्कका प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गरिसक्नु भएको छ । त्यस्तै रासस प्रमुख समाचारदातामा कार्यकारी सम्पादक कृष्ण अधिकारी नियुक्त भएका छन्।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech