सर्लाहीका स्थानिय निकायको बजेट चुनाव र कार्यकर्ता केन्द्रीत रहेको आरोप

3.1k Shares

सर्लाहीका स्थनिय निकायहरूले चुनाव केन्द्रित गरेर आगामी आर्थिक वर्षका लागि धमाधम बजेट ल्याएका छन् । आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम कार्यकाल रहेकाले जनप्रतिनिधिहरुले चुनावलाई केन्द्रित गरेर बजेट ल्याएका हुन ।
स्थानिय निकायहरूले असार १० मा बजेट ल्याएर २५ गतेभित्र पारित गर्नुपर्ने प्रावधान छ । तर जिल्लाका कतिपय स्थानिय निकायहरुले भने बल्ल बजेट ल्याउन थालेका छन । लालबन्दी नगरपालिकाले छैठौं नगरसभा बिहीबार सम्पन्न गर्दै चालु आर्थिक वर्षका लागि रु १ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ बराबरको बजेट पारित गरेको छ ।
नगरपालिकाले स्वास्थ्य सेवामा सुधार, शैक्षिक विकास, भौतिक पूर्वाधार, कृषि तथा पशुपन्छी विकास, वातावरण संरक्षण एवम विपद् व्यवस्थापन, रोजगारी सिर्जनालगायतलाई प्राथमिकता दिएको जनाएको छ । १७ वटा वडा रहेको लालबन्दीमा सबै वडामा समान हिसाबले अति आवश्यक क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिनु भयो । उहाँले गत वर्षहरूको जस्तै यस आर्थिक वर्षको बजेट ल्याइएको दाबी गर्नु भयो ।
तर, अन्य दलका नेताले भने पालिकाको यसपटकको बजेट चुनाव केन्द्रित आएको आरोप लगाएका छन् । हालका जनप्रतिनिधिहरुको अन्तिम बजेट भएकाले आफ्ना नेता तथा कार्यकर्तालाई हित हुने गरी बजेट आएको नेपाली कांग्रेस लालबन्दी नगर कमिटी अध्यक्ष प्रशान्त आचार्यले बताउनुभयो । उहाँले लालबन्दीका जनप्रतिनिधि निर्वाचित भएपछि एक पटक पनि सार्वजनिक सुनुवाइ नगरेको तथा अहिलेसम्म कहाँ कुन कार्यक्रममा कति रकम खर्च गरेको भनेर स्पस्ट जवाफ दिन नसकेको बताउनु भयो । पटक–पटक हर हिसाब सार्वजनिक गर्न अनुरोध गरे पनि जनप्रतिनिधिहरुले बेवास्ता गर्दै आएको बताउँदै सभापति आचार्यले यसपटकको बजेट उनीहरूले चुनावी रणनीतिअनुसार ल्याएको आरोप लगाउनु भयो ।
‘लालबन्दी नगरले अहिलेसम्म कुनै पनि हिसाब सार्वजनिक गरेको छैन , त्यसमा पनि यस पटकको बजेट पूर्णरूपमा आफ्ना नेता कार्यकर्तालाई लक्षित गरी ल्याएको छ ’ आचार्यले बताउनु भयो । बजेट आउनुपूर्व नगरपालिकालाई ज्ञापनपत्र बुझाएर बजेट जनमुखी र समावेसी बनाउन माग गरिएकोमा त्यसो हुन नसकेको आचार्यले बताउनुभयो । उहाँले यसपटकको बजेट आवश्यकतामूखी हुनुपर्नेमा व्यक्ति केन्द्रित भएको आरोप लगाउनु भयो । नगर प्रमुख खड्काले यस वर्षको मात्र हैन, प्रत्येक वर्षको बजेट चुनाव केन्द्रित नै हुने गरेको बताउनु भएको छ ।
जनताका लागि विकास गर्ने भएकाले जनाताकै कामका लागि बजेट छुट्याउने गरेको उहाँको दाबी छ । तर आफ्ना कार्यकर्तालाई लक्षित गर्दै बजेट ल्याएको आरोप विरोधी पार्टीले विरोधका लागि मात्र गरेको हुन सक्ने उहाँले बताउनुभयो । ‘हामी निर्वाचित भएसँगै चुनाव केन्द्रित अर्थात् जनताका लागि नै बजेट ल्याउने हो, यसपटक पनि आफ्ना नागरिकका लागि नै बजेट ल्याएका छौं, निर्वाचनबाट आएका जनप्रतिनिधिहरु वीचमा छलफल भएको र बजेटको व्यावस्थापन भएको छ केही साथीहरुले सर्वदलीय छलफल गर्नु पर्ने माग गर्नु भएको छ । निर्वाचन नहुँदा सर्वदलीय छलफल हुने हो अहिले हामी सबै पार्टीबाट निर्वाचित भएर आएका छौँ,अब किन सर्वदलीय छलफल चाहियो,बजेट ल्याउँदा आफ्ना नेता तथा कार्यकर्ता देखेका छैनौं ।’ नगर प्रमुख खड्काले बताउनु भयो ।
त्यसैगरी,बरहथवा नगरपालिकाले पनि बिहीबार छैटौं नगर सभा सम्पन्न गर्दै चालु आर्थिक वर्षका लागि रु १ अर्ब ६ करोड ५७ लाखको बजेट पारित गरेको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, विपद् व्यवस्थापनलगायतलाई प्राथमिकता दिइएको जनाएको छ ।
यता, हरिवन नगरपालिकाले एक साताअघि नै पाँचौँ नगर सभा सम्पन्न गर्दै रु १ अर्ब ३ करोडको बजेट पारित गरेको छ । हरिवनले भौतिक पूर्वाधार, विपद् व्यवस्थापन, शैक्षिक विकास, स्वास्थ्य सेवामा सुधारलगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताउनु भयो । ११ वटा वडा रहेको हरिवनमा प्राथमिकताका आधारमा प्रत्येक वडामा जनताको आवश्यकतामूखी बजेट ल्याइएको नगर प्रमुख प्रसाइको दाबी छ । उहाँले बर्सेनिजस्तै यसपटक पनि सामूहिक हितका लागि बजेट विनियोजन भएको बताउनु भयो । ‘चुनाव एउटा पाटो हो, बजेट अर्को पाटो हो, कुनै भेदभाव नै नराखी बजेट विनियोजन गर्दै विकास निर्माण गर्दै जाने हो भने जनताले फेरि पनि चुनेर जिम्मेवारी दिने उहाँले बताउनु भयो । ‘तर हामी जनप्रतिनिधि पनि इमानदार भएर जनताको पक्षमा काम गर्नुपर्छ, हाम्रा लागि सबै नागरिक समान छन ।’ २० वटा स्थानिय निकाय रहेको सर्लाहीमा अरु स्थानिय निकायले पनि धमाधम बजेट ल्याउनेकाम गरि रहेका छन् ।

सम्बन्धित समाचार