Close This

लखनदेहीको निर्माणधिन ड्याम बाढीले बगायो,आसपासका बस्ती जोखिममा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-५ गते   ८२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेही खोलामा बनाएको ड्याम बाढीले बगाएको छ । लालबन्दी नगरपालिका १ को नवलपुरस्थित लखन्देही खोलामा लालबन्दी नगरपालिकाले बनाएको  ड्याम लखनदेही खोलामा आएको बाढीले बगाएको हो ।
 लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नन्देश्वर महादेव सामुदायिक वन क्षेत्रमा बाढीको कटान रोक्न केही दिनअघि बनाएको २ सय ८० मिटर ड्याम ३ दिनदेखि निरन्तर आएको बाढीले बगाएको लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष पञ्चलाल स्याङ्वोले जानकारी दिनुभयो । असारको अन्तिम साता आएको बाढीले वनको झण्डै ३ हेक्टर क्षेत्र कटान गरेको थियो ।
बाढीले वनमा लगाइएको करिब ७ हजार बिरुवा बगाएको नन्देश्वर महादेव सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष उदय बहादुर कार्कीले बताउनु भयो । उक्त वन क्षेत्रको कटान रोक्नका लागि केही दिनअघि मात्र नगरपालिकाले करिव २ सय ८० मिटरको २ वटा ड्याम निर्माण गरेको थियो । ड्याम पूर्ण रुपमा बगाएको लालबन्दी नगरपालिका–१ का वडाध्यक्ष स्याङ्वोले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनु भयो ।
लखनदेही खोलामा मनोमानी ढंगले उत्खन्न गरिएका कारण खोलाले आफ्नो धार परिवर्तन गरेर कटान गरेको स्थानीयवासीले बताएका छन् । अब अझ ठूलो बाढी आउँदा नवलपुरमा बनिरहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशन र त्यस छेउछाउका बस्तीहरु जोखिममा परेका वडाध्यक्ष स्याङ्वोले बताउनु भयो ।
खोलामा भएको अवैध उत्खन्नको मार सामुदायिक वनले खेप्नु परेको सामुदायिक वनका अध्यक्ष कार्कीको गुनासो छ । लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काले खोलामा पानी कम हुनासाथ फेरि ड्याम कस्न जेसिबी तयारी अवस्थामा राखिएको बताउनुभयो ।  उहाँले लखनदेही खोलाको बाढी बस्तीमा पस्न नदिने बताउनु भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech