सर्लाहीमा भएको अनियमित विद्युत् कटौती र कम भोल्टेजले आजित भएका स्थानीयले हरिवनमा बिहीबार प्रदर्शन गरेका छन्। विद्युत् प्राधिकरणको लापरबाहीका विरुद्ध पूर्वपश्चिम रलोकमार्गमा १० मिनेट चक्काजाम गर्दै स्थानीयले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
जिल्लामा एक घण्टामै चार–पाँचपटक विजुली जाने समस्या छ । लामो समयदेखिको यो समस्या समाधानमा प्राधिरणले चासो नदिएपछि बाध्य भएर सडकमा उत्रनुपरेको स्थानीयले बताएका छन्।
जिल्लामा अघोषित लोडसेडिङको रुपमा रहेको विद्युत् कटौती र कम भोल्टेज आउने समस्या तत्काल समाधान गर्न माग गर्दै स्थानीयले विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रलाई ज्ञापन पत्रसमेत बुझाएका छन्।
समस्या समाधानमा चासो नदिए प्राधिकरण विरुद्ध चरणवद्ध संघर्षमा उत्रने चेताबनी समेत स्थानीयले दिएका छन्। जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत् प्राधिरणलाई ज्ञापनपत्र बुझाइएको आन्दोलनकारीले बताएका छन् ।
ढल्केवर ग्रीडको सवस्टेशनको ३० एमविए पावर ट्रान्सफर्मर बिग्रेको कारण सर्लाहीको विद्युत आपुर्तीमा समस्या आएको लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले बताउनु भयो । उहाँका अनुसार ढल्केवर ग्रिडमा समस्या आएपछि हाल सर्लाहीमा रौतहटको चन्द्रनिगहापुर ग्रिड सवस्टेशनबाट विद्युत आपुर्ती हुँदै आएको छ। जसको कारण सर्लाहीमा भोल्टेजको समस्या भएको हो । यो समस्या अरु करिब १५ दिन रहने रायले बताउनु भयो ।त्यतिन्जेलसम्म जिल्लामा विद्युत् आपुर्तीमा केही समस्या रहिरहन्छ ।
साथै आफुहरु जतिसक्दो चाँडो यो समस्या समाधान गर्ने कोसिसमा रहेको रायले बताउनु भयो । प्राधिकरणले गएको मंगलबार सूचना जारी गरेर विद्युत् आपुर्तीमा भइरहेको समस्याको विषयमा जानकारी गराएको थियो । तर पहिलाका कार्यालय प्रमुखहरु हुँदा विद्युतिय समस्या कम देखिने गरेकोमा अहिले बढी देखिएको भन्दै स्थानिय आक्रोसित भएका छन् ।