लालबन्दी साझेदारी वन समिति अवैध ढंगले गठन गरिएको भन्दै डिभिजन वन कार्यालय घेराउ,कोठे समिति खारेजीको माग

3.4k Shares

सर्लाहीको लालबन्दी साझेदारीको वन व्यवस्थापन समुह गठन अवैध भएको भन्दै लालबन्दीका युवाहरुले डिभिजन वन कार्यालय सर्लाही घेराउ गरेका छन् ।  कविलासी नगरपालिका ७ मा साउन १३ गते एक कार्यक्रमको आयोजना गरी अजय यादवको अध्यक्षतामा साझेदारी वन व्यवस्थापन समुह गठन गरिएको थियो ।
वनको नजिक रहेका र यसको प्रत्यक्ष,अप्रत्यक्ष मारमा परेका उपभोक्तालाई वेवास्था गरि साझेदारी वन व्यवस्थापन समुह गठन गरिएको भन्दै लालबन्दी नगरपालिका ६ का वडाध्यक्ष उज्वल कुमार कार्कीको नेतृत्वमा युवाहरुले डिभिजन वन कार्यलय सर्लाही घेराउ गर्दै डिभिजन वन अधिकृत माधव प्रसाद देवलाई ज्ञापन पत्र बुझाएको युवा अगुवा शिवहरी गौतमले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनुभयो । उहाँका अनुसार साउन १३ गते गठन गरिएको वन व्यवस्थापन समिति अपारदर्शी र अवैध भएको भन्दै त्यसको खारेजीको माग गर्दै डिभिजन वन अधिकृत देवलाई ज्ञापन पत्र बुझाएको गौतमले बताउनु भयो ।
लालबन्दी नगरवासीको तर्फबाट दुई सुत्रिय माग राख्दै,लालबन्दी साझेदारी वनको नवगठित कार्यसमिति विघटन गर्न,साझेदारी वनको विधि र प्रकृया अनुसार वन क्षेत्र वरपरका उपभोक्तालाई समेत समेट्ने गरी नया कार्यसमिति गठन गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
कोभिड महामारीको समयमा विधि र प्रकृयालाई लत्याएर वनको लागि ज्यानै दिने समुदायलाई पाखा लगाई सुटुुक्क कोठे कार्यसमिति गठन गर्नु लज्जास्पद र हास्यास्पद विषय भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस्ता गतिविधिले वन संरक्षणमा आम उपभेक्ताको अपनत्व र पहुचमा ह्रास आउने भएकाले ७ दिन भित्र उक्त निर्णय सच्याउन ज्ञापन पत्र मार्फत माग गरिएको छ । आफुहरुका मागलाई वेवास्ता गरिए चरणवद्ध कडा संघर्षमा उत्रने र परिणाम गम्भिर हुने युवाहरुले चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार