लखनदेही नदीको निरनतर कटान,बाँध भत्किए नदी बस्तीतर्फ सोझिने भन्दै स्थानिय त्रसित

2.4k Shares

निरन्तरको वर्षाले सर्लाहीमा खेती योग्य जमिन कटान र डुबानको समस्या फेरि बढेको छ । जिल्लामा लखन्देही नदीले कटान गर्न थालेको छ भने पानीको निकास नहुँदा डुबानको समस्या छ ।
लखन्देही नदीले हरिपुर नगरपालिका–९ पिडारी ढापटोलको बाँध कटान गरेको छ । अन्तिम अवस्थामा रहेको बाँध भत्किए खेतीयोग्य जमिन कटान गर्दै खोला बस्तीतर्फ सोझिने खतरा बढेको छ । पिडारी ढापटोलको कटानले ढापटोलसहित दक्षिण क्षेत्रमा पर्ने पिडारी, पिपरिया, रनियाँ, जमुनिया लगायतका स्थानका बस्तीहरु जोखिममा परेका छन् । भने  तत्कालै कटान नरोके सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुने निश्चीत छ ।
खोलाले खेती योग्य जमिन कटान गरिरहे पनि स्थानिय जनप्रतिनिधि सहितको टोली हेरेर फर्किने मात्र गरेको स्थानिय रिना महतोको गुनासो छ । पहिले बाँध बन्नुअघि खोला खेतीयोग्य जमिन हुँदै बस्ती पस्ने गरेको थियो । ‘अहिले बाँध कटान भएर त्यही समस्या दोहोरिएको छ,’ रिनाले भनिन्, ‘जनधनको क्षति हुने चिन्ता बढेको छ ।’
राति खोलाको गर्जनले निद्रा हराउने गरेको अर्कास्थानिय शिवनारायण चौधरीले बताए । ‘ढापटोलमा लखन्देहीले बाँध भत्काउन थालेको छ, त्यहाँ बाँध भत्किए हाम्रो बस्तीमा बाढी पस्न बेर छैन,’ उनले भने । दुई साताअघि कौडेना गाउँपालिका–७ सक्रौलमा लखन्देहीले भत्काएको बाँध मर्मत हुन नसक्दा जोखिम कायमै छ । मलंगवा नगरपालिका–५ भाँड्सरमा डुबानको समस्या छ । पानीको निकास नहुँदा यहाँ दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।
भाँड्सरमा लखन्देही नदीको पानी बस्ती पसेको स्थानीयले जनाएका छन् । यहाँ घर डुबानमा पर्नुका साथै खेतबारी पनि जलमग्न बनेको छ । पानीले गाउँ पुग्ने बाटोसमेत अवरुद्ध बनाएको छ । बाटोमा कम्मरभन्दा बढी पानी छ । स्थानीयका अनुसार भाँड्सर र खुटौनाको बीचमा बाँध अधुरै रहेकाले खोलाको पानी गाउँ पसेको हो । स्थानीय समसुल हकले वर्षाको सिजनमा बर्सेनि डुबानको समस्या खेप्दै आएको बताए ।
कटान रोक्ने जिम्मा पाएको जनताको तटबन्ध कार्यालय हरिपुर बजेट अभावको बाहनामा  पच्छीने गरेको छ । कार्यालय स्थानीय निकाय तथा अन्य निकायको भरमा बसिरहेको छ । स्थानीय निकायले आर्थिक सहयोग गरे मात्र कार्यालयको प्राविधिक टोली बाँध मर्मतमा जुट्ने गरेका छन् । बोरामा बालुवा राखेर अस्थायी मर्मत गर्न लागिएको कार्यालयका प्रमुख रविन्द्र शर्माले बताउनु भयो ।
कटान रोक्न जनताको तटबन्ध कार्यालयसँग समन्वय गरिरहेको हरिपुर नगरपालिकाका नगरप्रमुख जमिरुदिन मन्सुरले बताउनु भयो । लखन्देही खोलाले यो वर्ष चक्रघट्टाको शिवनगर, लालबन्दीको नवलपुर, मलंगवाको भाडसर, हरिवनको गणेशचोक, कौडेनाको सक्रौल लगायतका दर्जनौं स्थानमा कटान गरेर क्षति पु¥याइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले स्थानीय तहको सहयोगमा जनताको तटबन्ध कार्यालयलाई तत्काल बाँध मर्मतमा जुट्न निर्देशन दिनु भएको छ । उहाँका अनुसार ढापटोलको बाँध मर्मतमा तटबन्ध कार्यालय जुटेको छ । उहाँले सक्रौलको बाँध मर्मतमा पनि एक प्राविधिक टोली खटिएको जानकारी दिनु भयो । तटबन्ध कार्यालयसँग बजेट नभए पनि बाँध मर्मतका लागि प्रयोग हुने बोरा लगायतको सामग्री रहेकाले स्थानीय निकाय र प्रहरीको सहयोगमा काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी महतोको भनाइ छ ।

सम्बन्धित समाचार