जंगल र बिजुलीका पोललाई बाधक देखाउँदै पूर्व पश्चिम राजमार्ग विस्तारको काम सुस्त

318 Shares

पूर्व पश्चिम राजमार्ग विस्तारको काममा विद्युतका पोलहरु र वन क्षेत्र बाधक बनेको छ।कमला–ढल्केबर–पथलैया सडक आयोजना पूर्वी खण्ड अन्तर्गत सर्लाहीमा करिब तीन महिनाको अवधिमा देखिने गरी उल्लेख्य काम हुन नसक्नुमा वन क्षेत्रका साथै विद्युतका पोलहरु रहेका कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ ।
सिरहा र धनुषाको सिमाना कमला नदीदेखि पश्चिममा सर्लाही र रौतहटको सिमाना बागमती नदीसम्म ७४ दशमलव ७५ किलोमिटर लम्बाइको पूर्वी खण्डको सडक स्तरोन्नतिको काम गत पुस १७ देखि सुरु भएको थियो ।
सर्लाहीमा नवलपुर र सासापुरमा लच्का भत्काएर कलभर्ट निर्माण गर्ने काम भइरहेको छ भने चापिनीखोलाको पुल विस्तार गर्ने काम अघि बढेको छ ।रानीगञ्ज र बागवानी जंगलमा दायाँबायाँ खाली रहेका सडकको क्षेत्राधिकारभित्र पर्ने क्षेत्रमा एक्साभेटर लगाएर सफा गर्ने काम बाहेक अन्य प्रगति देखिने कुनै काम हुन सकेको छैन् ।
पूर्वी खण्डमा विश्व बैङ्कको रु १८ अर्ब ६० करोड ऋण सहयोगमा ठेक्का लागेर काम अघि बढेको भएपनि सुस्तगतिमा काम भएको छ ।आगामी सन् २०२७ सम्म पूर्वपश्चिम राजमार्गको पूर्वी खण्ड स्तरोन्नति गर्ने लक्ष्य अनुसार ठेक्का लगाएर काम सुरु गरिएको भएपनि सम्बन्धीत आयोजनाले समन्वय गर्न नसक्दा कतिपय स्थानहरुमा विवाद सृजना हुने अवस्थामा पुगेको पाईएको छ।सडकको क्षेत्राधिकार नै एकिन नगरी काम सुरु गर्दा विवाद सृजनाहुने अवस्थामा देखिएको स्थानीयले बताएका छन् । 
निर्माण अघिको पूर्व तयारीका लागि सडक दायाँबायाँ रहेका रुखदेखि पोलसम्मका अवरोध हटाउनुुपर्ने भएकाले निर्माण कार्य सुस्त देखिएको कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख छविलाल पौडेलले बताए ।उनका अनुसार रुख कटान र बिजुलीको पोल सार्ने काममा ढिलाइ हुँदा सडक विस्तारमा समस्या सृजना भएको हो ।
सडकको क्षेत्राधिकारभित्र पर्ने रुखमा छपानको काम भए पनि कटान गर्न मधेश प्रदेश वन तथा वातावरण मन्त्रालय र संघयि वन तथा वातावारण मन्त्रालयका साथै मन्त्रीपरिषदबाटै निर्णय हुनुुुपर्ने भएकाले सडक निर्माण क्षेत्राधिकार भित्र रहेका रुखहरु कटान हुन बाँकी रहेको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए ।
रुख बिरुवा र बिजुलीका पोल नहटाइएकाले काम गर्नका लागि निर्माण व्यवसायीलाई ठाउँ दिनै नसकिएको आयोजना प्रमुख पौडेलले बताए।सडक आयोजनाले दुुई साताअघि सूचना निकालेर अहिले कायम रहेको सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५÷२५ मिटर खाली गर्न आग्रह गरिसकेको छ ।
अहिले दुई लेनको पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा “मेडियन”सहित १८ मिटर चौडाइको चार लेनमा स्तरोन्नति गर्नुपर्ने भएकाले सडक क्षेत्राधिकारमा अनेक बाधा अड्चन देखा परेका आयोजनाले जनाएको छ ।कार्यालयका अनुसार सडक स्तरोन्नति गर्न कमला पुलदेखि बागमती पुलसम्म सडक दायाँबायाँ रहेका आठ हजार चार सय ५२ वटा विभिन्न प्रजातिका रुख हटाउनुपर्ने छ ।यस्तै दुई सय २२ वटा विद्युतका पोल विस्थापन गर्नुपर्ने छ ।बिजुलीको पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ठेक्कामार्फत नै काम गराउन लागेको बुझिएको छ ।
यीबाहेक ३५ वटा मठमन्दिर,५५ वटा बर पिपलको चौतारो,१७ ठाउँमा नेपाली सेना र दुई ठाउँमा नेपाल प्रहरीको चेकपोस्ट,चार वटा प्रहरी बिट र एउटा प्रतीक्षालय,आठ वटा इनार,६९ वटा प्रतीक्षालय र तीन वटा सार्वजनिक शौचालय रहेका आयोजनाले जनाएको छ ।कन्सलटेन्टको रिपोर्टले ३३ हजार एक सय ६० मिटर खानेपानीका पाइपमा बाधा पुग्न सक्ने देखाएको छ ।

सम्बन्धित समाचार