Close This

दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा युवा संघ सर्लाहीद्धारा हरिवनमा मसाल जुलुस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२ गते   ५५ पटक हेरिएको

दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा (एमाले) निकट युवा संघ नेपालले सर्लाहीले हरिवनमा मसाल जुलुस प्रदर्शन गरेको छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार साँझ  युवा संघ सर्लाहीले पूर्व–पश्चिम लोकमार्र्गस्थित हरिवनमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
युवा संघ नेपालका केन्द्रीय सदस्य तथा सर्लाही जिल्लाका नेता हरि बर्तौलाको नेतृत्वमा निकालिएको मसाल जुलुसमा संघका जिल्ला अध्यक्ष जोनिस पाख्रिन, विद्यार्थी नेता श्रीकृष्ण उप्रेती , प्रज्वल ढुंगाना, हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, लालबन्दी नगरपालिका ६ का वडाध्यक्ष उज्जल कुमार कार्की लगायतको उपस्थिति युवा संघ सर्लाहीले जनाएको छ । 
नेपाल सरकारले मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघ सर्लाहीले प्रदर्शन गरेको हो । बुधबार दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नेकपा (एमाले)को माधव कुमार नेपाल समूहले नयाँ दल दर्ता गरेको छ । त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष पनि नयाँ दल दर्ताका लागि आयोग पुगेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech