सर्लाहीको सब डिभिजन वन कार्यालय बाँकेमा करिब ५० वर्षपछि खानेपानीको व्यावस्था भएको छ । स्थापना भएको ५० वर्षसम्म पनि खानेपानीको व्यावस्था नभएको सब डिभिजन वन कार्यालय बाँकेमा खानेपानीको व्यावस्था भएपछि कर्माचारीहरुको मनोवली समेत फेरिएको छ ।
विगतमा खानेपानीको अभाव हुँदा जङ्गल संरक्षणमा खटिएका कर्मचारी तथा वन रक्षकहरू कार्यालयमा हाजिर गरेर बजारमा डेरा लिएर बस्ने र दिनभर निजी काममा खट्ने गरेका भएपनि अहिले कार्यालय मै बस्न थालेका डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख डिभिजन वन अधिकृत मन्जुर अहमद्ले बताए । उनका अनुसार आफु सर्लाही आउनु पहिला सब डिभिजन वन कार्यालय बाँकेका वन अधिकृत,कर्मचारी र वन रक्षकहरू हाजिर गरेर नीजि काममा व्यस्त हुने गरेका र अहिले खानेपानीको समेत व्यावस्था भएपछि कर्माचारीहरु कार्यालयमा भेटिन थालेका छन् ।
जसका कारण जङ्गलमा चोरी तस्करी तथा वन क्षेत्रको अतिक्रमण समेत बढ्दै गएको थियो । तर,खानेपानीको व्यवस्थासंगै कार्यालय व्यावस्थापनमा डिभिजन वन कार्यालयले सहयोग गरेपछि कर्मचारी र वन रक्षकहरू वन जङ्गल संरक्षण र कार्यालयमै खट्ने गरेका डिभिजन वन अधिकृत अहमद्को भनाई छ ।
विगतका दिनहरुमा पानीको व्यावस्था नहुँदा १२ किलोमिटर टाढा पुगेर पानी ओसारेर खाना पकाउन र नुहाई धुवाई गर्नु पर्ने गरेको भएपनि अहिले कार्यालय परिसर मै खानेपानीको व्यावस्था भएको सब डिभिजन वन कार्यालय बाँकेका वन रक्षक शुभकर्ण रायले बताए ।उनका अनुसार ‘५० वर्षदेखि १२ किलोमिटर टाढाबाट पानी ओसारेर कर्मचारीहरुले खानुपर्ने,पानीको समस्या धेरै थियो,तर अहिले धेरै सुविधा भएको छ ।’
सो सब डिभिजन वन कार्यालय आसपासको क्षेत्रमा यसअघि पटक पटक बोरिङ खनेर पानी निकाल्ने प्रयास भए पनि सफल हुन सकेको थिएन । यस पटक भने डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत अहमदको पहलमा प्राविधिक टोलीको अध्यायनपछि तीन सय फिट तल खन्दा पानी भेटिएको र विद्युत् लाइन नभएका कारण ठुलो जेनरेटरको प्रयोग गरेर बोरिङको माध्यमबाट पानी निकालिएको सब डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
‘विगतमा पानी निकाल्ने मेशिन नै ल्याएर बोरिङ खन्दा पनि कसैले जिम्मा नलिने,पानी पनि नभेटिने समस्या थियो तर यस पटक पानी ननिकाले पैसा नदिने सर्तमा खन्दै जाँदा तीन सय फिट तल पानी भेटियो ।’डिभिजन वन अधिकृत अहमदले बताए । उनका अनुसार‘अहिले पानीको व्यवस्था भएपछि सबै कर्मचारी,वन रक्षकहरू कार्यालयकै आवास गृहमा बस्ने खाने र जङ्गलको संरक्षणमा पनि लागेका हुन ।’
विगतमा पटक पटकको प्रयासले पनि पानी नआएपछि स्थानीयले अन्यत्रबाट टंयाकीमा पानी ओसारेर खाने गरेका थिए । डिभिजन वन कार्यालयले प्राविधिक टोली ल्याएर अध्यायन गरेपछि डिप बोरिङमा लागेको ज्याला,ठुलो जेनरेटर,सहित सम्पूर्ण सामग्री गरेर करिब रु १३ लाख खर्चेर यस पटक पानी निकाल्न सफल भएको डिभिजन वन अधिकृत अहमदले बताए ।
‘हामीले बोरिङ खनेर पानी ल्याएपछि त्यो भेगमै पानी आउँदो रहेछ भन्ने सन्देश पनि गएको छ,अहिले इश्वरपुर नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र ठाउँ ठाउँमा बोरिङ खन्ने काम सुरु गरिरहेको छ’डिभिजन वन अधिकृत अहमदले कमलामाई मिडिया प्रा.लिलाई बताए ।‘विगतमा जोखिम किन लिने बोरिङ खनेर खर्च गरेर फेरि पानी आएन भने अपजस होला भनेर पनि काम नगरेको अवस्था रहेछ,तर हामीले प्रयास गर्दा पानी आएन भने लागेको खर्च सरकारी मापदण्ड अनुसार नै हुने गरी काम गर्ने आँट आयो’ । डिभिजन वन अधिकृत अहमदले बताए ।
करिब एक दर्जन कर्मचारीहरु र वन रक्षक कार्यरत रहेको सब डिभिजन वन कार्यालय बाँकेमा पानीको व्यवस्था भएपछि वन जङ्गल संरक्षणमा समेत मद्दत पुगेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।डिभिजन वन कार्यालय सर्लाही अन्तर्गत रहेका छ वटा सब डिभिजन वन कार्यालयहरू रहेका छन् । जस मध्ये पाँच वटा सब डिभिजन वन कार्यालयहरू जङ्गल क्षेत्रभित्र रहेका छन् । जङ्गलभित्र रहेका सब डिभिजन वन कार्यालयमा खानेपानी,विद्युत् लगायत न्युनतम् आधारभूत सुविधा नहुँदा अधिकांश कर्मचारी कार्यालयमै नबस्ने गरेको पाइएको डिभिजन वन कार्यालयले जनाएको छ । जसका कारण वन जङ्गल संरक्षणमा ठुलो असर परेको डिभिजन वन कार्यालयको ठम्याई छ ।
वन कार्यालय अर्धन्यायिक निकाय भएकाले कर्मचारी तथा वन रक्षकहरू प्रहरी प्रशासनले सरह २४ सै घण्टा जङ्गल संरक्षणका लागि खट्नुपर्ने हुन्छ । कार्यालयमा सामान्य सुविधा समेत नहुँदा विगतमा कर्मचारीहरू झोलामा कार्यालय राख्ने र बजारमा डेरा लिएर बस्ने गरेको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेशरन्जन दासले बताए । ।‘अहिले हामीले सबै सब डिभिजन प्रमुखहरूलाई कार्यालयमै बस्ने वातावरण बनाएका छौ,पहिलो चरणमा हामी सुरक्षित हुनुपर्छ,वन कर्मचारीको बस्ने,खाने व्यवस्था राम्रो भएपछि मात्रै जङ्गलको संरक्षण हुन सक्छ’डिभिजन वन कार्यालयका सुचना अधिकारी दासले बताए । उनका अनुसार‘अहिले जङ्गलमा गस्ती गर्ने,अतिक्रमण हटाउने,चोर, तस्करलाई समात्ने लगायतका वन,जङ्गल संरक्षणका धेरै कामहरु भएका छन् ।’