सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत नवलपुर बजारमा आइतबार साँझ एक जना सुनचाँदी व्यवसायीलाई अपहरण शैलीमा नियन्त्रणमा लिन आएको टोली भारतीय प्रहरी भएको पाइएको छ ।
लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको मनकामना सुनचाँदी पसलका संचालक लालबन्दी नगरपालिका १ नवलपुर नै घर भएका गुड्डु साहलाई अपहरण शैलीमा नियन्त्रण लिने प्रयास गर्ने अपरिचित समूहमा आएको टोली भारतीय प्रहरी भएको पाइएको हो ।
आईतबार साँझ करिब ६ बजे नेपाली नम्बर प्लेटको स्कर्पियो चढेर आएका ४ जनाले साहलाई गाडीमा राखेर लैजाने प्रयास गरेका थिए । तर, तत्कालै प्रतिकार गरेर स्थानीयले अपरहरण शैलीमा साहलाई लिन आएको टोली मध्ये एक जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिन सफल भएका थिए ।
ती प्रहरीलाई हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । तर प्रहरीले उनको विषयमा कुनै जानकारी गराएको छैन । भने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले माथिल्लो तहबाटै अनुसन्धान एवम छलफल भई रहेको जानकारी दिए ।
भारतको पटना स्थित एसएस ज्वेलर्समा २०७८ माघ ७ गते ३५ किलो सुन र १२ लाख भारतीय रुपैया लुटपाट भएको घटनाको अनुसन्धानका क्रममा भारतीय सुरक्षा निकायले पटक–पटक सर्लाहीका विभिन्न व्यक्तिहरु उपर नियन्त्रण लिने प्रयास गरिरहेको छ । यसअघि वैशाखमा लालबन्दी नगरपालिका २ पुनर्वास निवासी सुन्दर पासवानलाई तथा एक साताअघि जंगली पासवानलाई पनि भारतीय प्रहरीले गाउँबाटै नियन्त्रणमा लिएर गएर मुद्दा चलाईसकेको छ । साहलाई भने के विषयमा भारतीय प्रहरीले नियन्त्रणमा लिन खोजेको हो, त्यो भने खुल्न सकेको छैन । सोमबार बिहान स्थानीय व्यापारीले घटनाको विरोधमा नवलपुर स्थित पूर्व–पश्चिम लोकमार्गमा चक्काजाम समेत गरेका थिए ।
नेपाल र भारतबीच सुपुर्दुर्गी सन्धी नभएकाले सम्बन्धित देशका सुरक्षाकर्मीले नै नियन्त्रणमा लिएर अर्काे देशका सुरक्षाकर्मीलाई बुझाउन नमिल्ने हुँदा नेपालतर्फका सुरक्षाकर्मीले पनि पटक–पटक भारतीय भूमीबाट विभिन्न मुद्दाका आरोपीलाई नियन्त्रणमा लिएर नेपालतर्फ लिएर आउने गरेको छन् ।
प्रहरी नियन्त्रणमा रहेका भारतिय सुरक्षाकर्मीको विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाही मौन बसेको छ ।सिमानाकाहरुमा धेरैकडाई गरिएको बताउने सर्लाही प्रहरी भारतिय सुरक्षाकर्मी नेपाल प्रवेश गरेर नेपाली नागरिहलाई अपहरण गरि लजाने प्रयास गर्दापनि मौन बस्नुलेनेपाली सुरक्षाकर्मीहरु र भारतिय सुरक्षाकर्मीहरुवीच कुनै न कुनैतालमेल रहेको स्थानीयले आशंका गरेकाछन् ।