Close This

राखी(रक्षाबन्धन) पर्वको रौनकले मिथिलाञ्चल गुञ्जयमान,हाटबजारमा बढ्यो रौनक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२ गते   ९२ पटक हेरिएको

सर्लाही सहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक बढेको छ । मिथिलामा आगामी आइतबार(भदौ ६ गते) राखी(रक्षाबन्धन) पर्व मनाइँदैछ । मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएसँगै पर्वको चहलपहल बढ्ने गर्दछ । फुटपाथे पसल देखि पान पसल, ठूलठूला व्यापारिक प्रष्ठिानमा समेत दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन बज्न थालेका छन् ।
चारैतिर राखी(रक्षाबन्धन) पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र अहिले राखीमय देखिएको छ । मिथिलामा अहिले जताततै दाजुभाइको बखान गरिएका माङ्गलिक धुन गुञ्जिरहेका छन् । प्रत्येक जसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन (राखी) साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने प्रचलन रहेको छ । कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) हातमा दिदीबहिनीले दाजुभाईलाई बाँधी दिने र दाजुभाई तथा दिदीबहिनीहरुको विचमा भातृत्व जगाउने साथैदाजुभाईले दिदीबहिनीलाई केही दक्षिणा दिने प्रचलन रहेको छ । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेली एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै राखीको तयारीसँग सम्बन्धित हुने गरेको छ ।
बिबाह गरि आफ्नो कर्मघर गाउका दिदीबहिनीहरु जन्मघर आउने र बाहिर रहेका दाजुभाई तथा दिदीबहिनीहरु पनि गाउँ फर्किने गरेका छन् । विवाह भएर गएका चेली (दिदीबहिनी)हरु मोबाइल फोन र सञ्चारका अन्य साधनबाट आफ्ना दाजुभाइलाई राखी बाँध्न आउने निम्ता दिन अहिले व्यस्त रहेका स्थानिय जानकारहरुले बताएका छन् । कोरोना माहामारी(कोभिड–१९) ले विगतको वर्ष र यो वर्ष बाहिर रहेका आफन्तजन आउन जान सहज नहुँदा टाढाबाट दाजुभाइले घर पुग्न नसकिने बताउँदा मन कुँडिने गरेको दिदी बहिनीहरुको गुनासो छ ।
यसैगरी अविवाहित चेली पनि काम विशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाँध्न आउने निम्ता दिनमा तल्लिन रहेका देखिँएको छ । साउन शुक्लपक्ष सुरु भएयता दाजुभाइप्रति देखाइने वास्ता र पर्वको पूर्वतयारीले १५ दिन बितेको थाहै नपाइने गरेको पर्वका लागि राखी छान्न जिल्लाको लालबन्दी,हरिवन,बरथहवा,बयलवास र मलंगवा सहित छिमेकी देश भारतको सोनवर्षा,सितामाडी समेत पुग्ने गरेका छन् । यही आउने भदौ ६ गते आइतबारका दिन मनाइने यस पर्वका लागि अहिले सिङ्गो मिथिला क्षेत्र नै उमङ्गित देखिएकोे छ ।
मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यस पर्व यो क्षेत्रको सांस्कृतिक पर्व रहेको मिथिला लोक संस्कृतिका ज्ञाताहरुले बताउने गरेका छन् । साउन शुक्लपक्ष सुरु भएयता हाट,बजारहरुमा आ–आफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलाका नारी,चेलीहरुको चहलपहल ह्वात्तै बढेको देखिएको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्यण कुमार जोशीले बताउनु भयो ।  साउन शुक्लपक्ष सुरु भएयता सर्लाही सहितका मिथिला क्षेत्रका कम्प्युटर पसलहरुमा रक्षाबन्धन पर्व विशेष दृष्टिगत गरी दाजुभाइ–दिदीबहिनीबीच प्रगाढ माया र सद्भाव दर्शाउने गीत बजाउन थालिएको छ । सडकका चोकचोक र हाटबजारमा गुञ्जेका राखी पर्वका गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको लालबन्दीका महेन्द्र महतोले बताउनु भयो ।
उहाँका अनुसार चेलीहरु अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकारबारे योजना बनाउन थालेका छन् । यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिनपहिलेदेखि नै आ–आफ्नो कामबाट फुर्सद मिलाउन लागेका छन् ।
पर्व विशेषमा दाजुभाइ, दिदीबहिनी र राखीको कारोबार गर्ने व्यापारीहरु उत्तिकै व्यस्त देखिएको छ । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारी जिवय साहले बताउनु भयो । उहाँका अनुसार पर्वका लागि अब केही दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न डिजाइनको माग र आपूर्तिका कामले एकछिन फुर्सद भएको छैन ।
अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका कथन छ । सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ । पर्व विशेषमा यसअघि केही मान्यता रहे÷भए पनि दिदी बहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरु र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको लालबन्दी नगरपालिका ७ का जानकार उमाशंकर साहले बताउनु भयो ।
पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिला नारीहरुले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्व झनै उजेलिएको आम मिथिलावासी बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने पुरानो चलन पनि अझै देखिँदै आएको ईलाका हुलाक कार्यालय लालबन्दीका शेखर खड्काले बताउनु भयो ।
पर्वमा व्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा जजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यस पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी सबै समुदाय(पर्वते)मात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आपूmले दाजुभाइ मानेकाहरुलाई राखी बाँधीदिन पर्वको तयारीमा लागिपरेका छन् ।
पछिल्ला दिनमा पर्व हिन्दू धर्मावलम्बीको मानिदै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू  दिदीबहिनी बनाएर राखी बाँध्ने चलन बढ्न थालेको छ । यस पर्व अब मिथिला क्षेत्रको साझा पर्व बनेको लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष तथा सामाजसेवी गोपाल प्रसाद घिमिरेले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech