सर्लाहीको बरहथवा नगरपालिका ६ बाट ३ राउण्ड गोली लोड भएको नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बरहथवाबाट गस्तीमा खटिएको प्रहरी टोलीले बरहथवा नगरपालिका–६, स्थित प्रहरी बिट नजिक चौकबाट मोटरसाइकलमा हिँडिरहेका युवकहरुलाई हतियारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बागमती नगरपालिका–८, का २८ वर्षीय अरुण लामा र सोही ठाउँका २८ वर्र्षीय अगबर अन्सारी रहेका ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले जानकारी दिनु भयो । उनीहरुलाई बीआर ३० जे ३०८० नम्वरको मोटरसाइकलमा बरहथवा बजारतर्फ जाँदै गर्दा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भाटले बताउनु भयो ।
उहाँका अनुसार प्रहरीको मोवाइल गस्ती टोलीले राती नियमित गरिने चेकजाँचका क्रममा सोमबार राती युवाहरु चढेको मोटरसाइकल रोकेर खानतलासी लिँदा मोटरसाइकलको बाँया साईडको लेगार्डमा झुड्याइएको झोलाबाट एक थान नलकटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद् गरेको हो ।
हतियारसहित पक्राउ परेकामध्ये लामा लागूऔषध मुद्वाका फरार अभियुक्त रहेका हुन भने उनिहरु दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।