Close This

सर्लाहीका उखु किसानहरुले चाडपर्वको मुखमा पनि अनुदान रकम पाएनन्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-४ गते   ३०२५ पटक हेरिएको

सर्लाहीका उखु उत्पादक किसानहरुले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन्। नेपाल सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानहरुलाई प्रतिक्विन्टल रु ६५ रुपियाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो। 
उद्योगीहरुबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानहरुलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनु भयो । उहाँका अनुसार भुक्तानीको झन्झटले उखु उत्पादक किसानहरु उखु खेतीबाट निरुत्साहित हुँदै अन्य खेती तर्फलागेको  छन् ।
यता, कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त प्रमुख दामोदर पौडेलले अनुदान रकम वितरणका लागि दुई साताअघि कार्यालयलाई रु २० करोड ७ लाख बजेट प्राप्त भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले रोक्का भएको बजेट खुल्ने बित्तिकै दशैंअघि नै उखु उत्पादक किसानहरुलाई अनुदान वितरण गरिने छ ।
अनुदान वितरणका लागि इन्दुशंकर चिनी उद्योग हरिवनबाट उखु किसानहरुको विवरण लिइसकेको र महालक्ष्मी चिनी उद्योग बगदहले एक÷दुई दिनमै विवरण उपलब्ध गराउने बताएको कोलेनिकाका निमित्त प्रमुख पौडेलले बताउनु भयो ।
चाडपर्वको समयमा अनुदान रकम उपलब्ध गराइदिन उखु किसानले सरकारसँग माग गरेका छन्। भने उखुको भुक्तानी लिन किसानहरुले हरेक वर्ष आन्दोलन गर्दै आइरहेका छन्। जिल्लामा तीनवटा चिनी मिल रहेको भएपनि इन्दुशंकर चिनी उद्योग हरिवनले समयमै भुक्तनी दिए पनि महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपुर्ण चिनी उद्योग धनकौलले भने भुक्तानीमा ढिलाई गरेको उखु किसानहरुले गुनासो गरेका छन् । गत वर्षदेखि नै बन्द रहेको अन्नपुर्ण चिनी उद्योगले उखु किसानहरुको पुरानो भुक्तानी समेत दिन सकेको छैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech