सर्लाहीको हरिवन नगरपालिका ३ डाबरीमा (आज) सोमवार वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । वडाबाट विनियोजित रु २० लाख र नगरपालिकाले छुट्याएको रु १० लाख गरी जम्मा रु ३० लाख लागतमा वडा कार्यालयको भवन निर्माण गर्न सुरु गरिएको वडा नम्बर ३ का वडाध्यक्ष दीपमान लोप्चनले जानकारी दिनु भयो ।
भवन निर्माण कार्यको (आज)सोमवार हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले शिलान्यास गर्नु भएको हो । चालु आर्थिक वर्षभित्र भवन निर्माणको काम सकेर वडा कार्यालय सार्ने योजना रहेको वडाध्यक्ष लोप्चनले बताउनु भयो । अहिले भाडाको घरबाटै वडा कार्यालय संचालन भइरहेको छ ।
सुरुमा पूर्व–पश्चिम लोकमार्गस्थित सासापुरमा रहेको वडा नं. ३ र ४ को संयुक्त वडा कार्यालयबाट सेवा संचालन गरिएको भएपनि बुढाबुढी र बिरामीहरुलाई लोकमार्गसम्म आउन समस्या भएपछि गाउँमै व्यक्तिगत घर भाडामा लिएर वडा कार्यालय संचालन गरिरहेको वडाध्यक्ष लोप्चनले बताउनु भयो ।
वडा कार्यालय उद्घाटन कार्यक्रममा वडा सचिव उत्तम थापा, वडा सदस्यहरु पार्टीका नेताहरुका साथै स्थानियबासीको उपस्थिति रहेको थियो । हरिवन नगरपालिकाको १, ३, ७, ९ र १० नम्बर वडाले यस वर्ष वडा कार्यालय बनाउन बजेट विनियोजन गरेका छन् ।