मधेश प्रदेशका अतिरित्त हुलाक कर्मचारीहरुले हुलाक निर्देशनालय मधेश प्रदेशको ध्यानाकर्षण गराएका छन्।मधेश प्रदेशका आठै जिल्लाका मधेश प्रदेशका अतिरित्त हुलाक कर्मचारीहरुले आफुहरुलाई काम काज गराउँदा लिखित निर्देशन हुनु पर्ने,आफुहरु कार्यरत कार्यालयहरुमा फर्निचर सहित अन्य आवश्यक सामाग्रीको व्यवस्था गर्नुपर्ने,आफुहरुलाई सवारीसाधन र मसलन्द लगायतको व्यवस्था गर्नुपर्ने,आफुहरुलाई पोशाक सहित परिचय पत्रको व्यवस्था गर्नुपर्ने, आफुहरु विगत लामो समयदेखि न्यूनतम पारिश्रमिकमा काम गरि रहेकाले आफुहरुको पारिश्रमीक बृद्धि गर्न पहल हुनु पर्ने लगायतका माग राख्दै हुलाक निर्देशनालय जनकपुरधामका निमित्त हुलाक निर्देशक एवम कार्यालय प्रमुख लाल झाको ध्यानाकर्षण गराईएको अतिरिक्त हुलाक कर्मचारी एशोसियसन मधेश प्रदेशका अध्यक्ष शेखर खड्काले जानकारी दिए ।
आफुहरुलाई हुलाक सेवा ऐन तथा नियमावली अनुसार काम गर्ने वातावरण बनाउनु पर्ने साथै आफुहरुलाई सञ्चार,ईन्धन र ईन्टरनेट सुविधा समेतको व्यवस्था गर्नुपर्ने हुलाक निर्देशनालय जनकपुरधामका निमित्त हुलाक निर्देशक एवम कार्यालय प्रमुख झाको ध्यानाकर्षण गराएको अध्यक्ष खड्काले बताए।ध्यानाकर्षण गराउन निर्देशनालय पुगेका अतिरिक्त हुलाक कर्मचारीहरुका अनुसार निर्देशनालयका निर्देशक एवम कार्यालय प्रमुख झा आए लगतै आफुहरु कार्यरत रहेको कार्यालयका फर्निचर सहितका सामाग्रीहरु विना कागजात बुझाउन लगाएका,मौखिक आदेशमा काम गराउने गरेका, मौखिक आदेशानुसार पालिका हुलाक कार्यालयमा काम काज गर्न पठाएर आफुहरुलाई विस्थापित गर्ने योजना बनाएका,मौखिक आदेशमा जिन्सी सामान बुझाउन लगाएका साथै कार्य विभाजन गरेका आरोप लगाएका छन्।
उनीहरुले अतिरिक्त हुलाक कर्मचारीहरुका सेवा सुविधामा विभेद गर्न नहुने र काम गराउँदा लिखित पत्र दिनुपर्ने समेत माग राखेका छन ।यता,निर्देशनालयका निर्देशक एवम कार्यालय प्रमुख झाले विभाग, कार्यालय प्रमुख र सेवाग्राहीहरुलाई राम्रो र सहज सेवा प्रवाह कसरी प्रदान गर्न सकिन्छ भन्ने मध्यमार्गी बाटो खोज्न अतिरित्त हुलाक कर्मचारीहरुसंग आग्रह गरे।उनले अतिरिक्त हुलाक कर्मचारीहरुको व्यवस्थापनको सवालमा सहजीकरण कसरी गर्ने भन्ने विषयमा आफुले पनि विभागसंग सल्लाह गर्ने बताए ।मधेश प्रदेशमा करिब १२ सय जना अतिरिक्त हुलाक कर्मचारीहरु कार्यरत रहेका छन् ।