मिटर ब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा चौधरी पक्राउ

3.3k Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बडकुर्वाका मिटर ब्याजमा ऋण लगानी गरेर ठगी गर्ने आरोपीलाई  सर्लाही प्रहरीले पक्राउ गरेको छ । पीडितहरुबाट जाहेरी आएपछि चन्द्रनगर गाउँपालिका–३, बडकुर्वाका नरेश चौधरीलाई मिटर ब्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोपमा  सर्लाही प्रहरीले पक्राउ गरेको हो ।
पीडितहरुबाट जाहेरी आएपछि अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । उहाँका अनुसार चौधरीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्वन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत सर्लाहीले प्रहरीलाई ५ दिनको म्याद प्रदान गरेको छ ।
पक्राउ परेका चौधरीले विपन्न नागरिकलाई मिटर ब्याजमा ऋण लगाएर उठिबास गराएको अरोप छ । उनले मिटर ब्याजमा ऋण लगाउने र दृष्टिन्धक भनेर जग्गा जमिन रजिष्टे«सन पास गरेर ठगी गर्दै आइरहेको बारे संचार माध्यममा समाचार आएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले समेत यसबारेमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
प्रहरी उपरिक्षक राठौरका अनुसार सोमवार साँझ घरबाटै पक्राउ परेका चौधरीका विरुद्ध अहिलेसम्म ३ जनाको उजुरी परिसकेको र थप केही व्यक्तिहरुले उजुरी लिएर आउने बताएका छन् । चौधरीलाई हिरासतमा राखेर अनुसन्धान जारी रहेकाले थप विवरणहरु खुल्न बाँकी नै रहेको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीले यसअघि मिटर ब्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोपमा श्यामकृष्ण साह कलवार(श्याम परदेशी) र रामबाबु राय यादवलाई पक्राउ गरेको थियो । भने संजय साह रौनीयार अझैँ फरार रहेका प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार